नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट आफू सभापतिको उम्मेदवार बन्न सक्ने खुलासा गरेका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारमाझ उनले यसबारे छलफल भए पनि टुङ्गो भने लागिनसकेको उल्लेख गरे । विपी पुत्र शशांक पछिल्लो समय कोइराला परिवारबाट आएका अर्का नेता शेखरभन्दा फरक कित्तामा छन् ।
आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपार्इं हुने सम्भावना कत्तिको छ भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?”
यसबारे सल्लाह गरेरमात्रै निर्णय लिने उनले जनाए । आफूलाई सभापति देउवाले भने यसबारे केही नभएको उनको भनाइ छ । देशभरका नेता, कार्यकर्ताको विचार सुन्ने र निर्णय लिने उनले पत्रकारलाई जानकारी दिए ।




