११ हजार वर्षपछि पुस माघमा वर्षा र असार साउनमा जाडो !

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया शनिबार भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अनुसन्धानपत्र पेश गरे ।

उनले अयनांशका कारण सौर्यमासको मिति १ महिनाअघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा गर्ने काम र प्रकृतिमा आउने परिवर्तनबीच तालमेल मिल्न नसकेको उनले तर्क गरे । पन्तले वैशाख १ गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो हप्ताको विशेषता भएको उनको तर्क छ ।

पन्तले हाम्रा चाडपर्व पनि समयमैत्री बन्न नसकेको र यसमा पञ्चांग निर्णायक समितिले तिथि उही राखेर मिति अघि सार्नुपर्ने सुझाव दिए । यदि मिति अघि सारिँदैन भने अबको ११ हजार २ सय ७२ वर्ष पछि पुस माघमा वर्षा ऋतु र असार साउनमा निकै जाडो हुने दाबी गरे ।

अहिले ऋतुमा परिवर्तन आएका कारण कुनै पनि महिनाका विशेषता एक आपसमा नमिल्ने तथ्यलाई उनले सप्रमाण स्पष्ट पारे ।

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीराम बरालले कल्याण पन्तद्वारा प्रस्ताव गरिएको समय निर्धारणको विषयलाई सम्बन्धित पक्षबाट बृहत् छलफलका साथ निष्कर्षमा पुग्नुपर्ने तर्क गरे । पराधीन र परम्परावादी सोचबाट मुक्त भई वस्तुवादी अध्ययनबाट प्राप्त तथ्यांकलाई आधार मानेर पञ्चांग निर्माण गर्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा डा बलराम उपाध्याय रेग्मी, सहप्रा पूर्णप्रसाद वाग्ले, डा लक्ष्मीशरण अधिकारी, डा रामचन्द्र बराल, संस्थाका पूर्व अध्यक्ष योगराज पोडेल, संस्थाका पूर्व उपाध्यक्ष सुरज पौडेल, वर्तमान उपाध्यक्ष हिमामाया पौडेल लगायतले समयको परिवर्तन, मानिसका कार्यकलाप, र यसबाट जनजीवनमा परेको प्रभावबारे धारणा राखे ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव डा भानुभक्त आचार्यले पनि बोलेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार विविध विषयमा छलफल आयोजना गर्दै आएको छ ।