कथा: चिया गफ

चोकमा सानुमायाको चिया पसल छ । बिहानमा त्यहाँ चिया धेरै बिक्छ, गफ पनि उत्तिकै बिक्छ !

प्रायशः चिया गफ गर्ने ३ थरिका मान्छे यहाँ आउँछन् । एकथरी–जो त्यहाँ छैन, उसैका कुरा काट्नेहरु हुन्छन् । यतिसम्म कि भर्खरै सँगसगै गफ गरेको मान्छे अहिले हिडिसक्यो भने पनि त्यसैका कुरा काट्छन् ।

अर्काे थरी, मनको भडास पोखेर आनन्द लिने, मन हलुका पार्नेहरु हुन्छन् । तेस्रो थरि चिया गफ गर्नेमा यस्ता मान्छे हुन्छन्, जो सिस्नाका बोटमा झटारो हान्ने बाउन्नबीर कदकाँटी खाले हुन्छन् । तर चिया गफ गर्दा आकासको तारा झराल्छन् । प्रायः तिनीहरु कहिल्यै चियाको पैसा तिर्दैनन् ।

आजकल मलाई चिया पसल जान मन लाग्दैन । त्यहाँका गफ बेकार र बेअर्थका लाग्छन् । बरु घरै बस्छु । साहित्यिक पुस्तक पढ्छु, लेख्छु । त्यसैमा आनन्द लाग्छ । एउटा कविता फुर्दा, कथाको प्लट डोकोझै बुन्दा र बिट मार्दा, अनि पत्रिकामा छाँपिदा अलौकिक आनन्द आउँछ । अझै, रचना पढेकाले कुनै प्रतिक्रिया दिँदा यो मन हर्लक्क हौसिन्छ ।

तर त्यस दिन म आफ्नै आचरणको खिलापमा गएँ । म सपौधीको पानी लिएर आएको थिएँ । ‘हिँड जाउँ,, यही मोटरसाइकलमा,’ निर्जलले मलाई बसाए । ‘जाऔं चिया खान,’ उनले आत्मीयतापूर्वक कर लाए ।

‘भो निर्जल, म घर जान्छ,ु’ मैले आनेकाने गरेँ ।
‘हिँड, हिँड एकछिन चिया खाँदै गफ गरौँ, घर गएर पो के गरिहाल्छौ र ?,’ उनले हात समातेरै जिद्दी गरे । मैले नकार्न सकिनँ । चिया पसलमा कुर्सी टेबल खाली थिए । सायद ग्राहक आउने बेला भइसकेको थिएन । पानी बोकेको जेब्रा झोला सिँढीमा राखेँ । अनि निर्जल सामुन्ने कुर्सीमा बसँे ।

‘ओ सानु ! २ कप चिया बनाऊ हो,’ निर्जलले खल्तीबाट मोबाइल निकाल्दै भने । त्यति नै बेला शेर्पा कन्सट्रक्सनका सुपरभाइजर मित्र केसी आए । ‘मित्र सरले नि चिया खाने होला नि ?,’ सानुमायाले भित्रबाट सोधिन् ।
‘खाइदिउँ न त खाइदिउँ । मरिलानु के छ र ?’
‘कहिलेसम्म पूरा हुन्छ मित्र सर, यो बाटोको पिच ?’ मैले प्रसंगको बुहुनी गर्दै भनँे ।
‘एक, दुई ठाउँमा खटपट भएको छ, कुरा मिल्यो भने फागुनसम्म तयार होला ।’

यस्ले खायो, उस्ले खायो भन्ने होइन, सकिन्छ भने आफूले पनि मिलाएर खाने हो । सक्छौ भने तिमोरु खाओ, अर्काले खाएको डाहा नगरोे !

निर्जलले मार्मिक तर सतही लाग्ने कुरा गरे, ‘हामी विकास भ’को छैन भन्छौँ । हाम्रो गाउँ पहिला कस्तो थियो ? अहिले पोखरासँग जोडिन २ वटा मोटरेबल पुल बने । जताततै पिच बाटो खुलेको छ । घरघरै मिटर धारा चलेका छन् । अब हाम्लाई सुविधा खोज्न किन पोखरा जानु प¥यो ? किन पोखरामा घर घडेरी जोर्नुप¥यो ?’


उनको तर्क त्यति नाजायज थिएन । तर मेरो विकासप्रति छुट्टै मान्यता छ । सायद समाजशास्त्रको विद्यार्थी भएर होला, अलग्गै धारणा बनेको । मैले अलिकता पृष्ठभूमि बाध्दै भने, ‘चारैतिर बाटो बन्दैमा, पुल बन्दैमा, घरघरै धारो हुँदैमा, स्कुल बस गाउँमा आउँदैमा, ठूला घर बन्दैमा मात्र विकास हुँदैन । विकास हुनका लागि सामाजिक विकास हुनुपर्छ । त्यो खाले विकास मानसिक चेतनाबाट मात्र सम्भव हुन्छ ।’

मेरो कुरा निर्जल र मित्र केसीले नबुझे जस्तो, नरुचे जस्तो गरी सुने । तथापि मित्रले
भने, ‘हजुरहरुको गाउँ त ओरै रमाइलो लाग्छ । कामको सिलसिलमा म कत्ति जिल्ला घुमेँ तर यति राम्रो गाउँ कही देखिनँ । वन, जंगल यही, मुल र झरना पनि यही, फाँट पनि यही, बारी र खरबारी पनि यही, तल दुईवटा खोला, डाँडामा त्यति राम्रो पुरानो मन्दिर । हिमाल पनि छर्लङ देखिने । सहरको यति नजिक, यस्तो ठाउँ साच्चै मैले कतै देखिनँ । छँदा पनि छैनन् होला । धेरै भाग्यमानी हो हजुरहरु त !’

नवनी दाइ कतैबाट आउनु भयो, सँगसँगै हरि दाइ पनि । नवीन दाइले भन्नुभयो, ‘गाउँ त रामैै्र हो । भनौँ भने आफ्नै आङ कन्हाएर छारो उडाए जस्तो । यहाँको समाज अलि ठीक छैन । दुई, चार जना मान्छेले गाउँ नै धमिल्याएका छन् । तिनलाई त काञ्जी हाउसमा थुनेर कुँडो र घाँस खुवाउन मन छ ।’

बोल्दा बोल्दै रिसाएर चर्किए उनी । उनको कुरा बडो ध्यान दिएर सुनेका मित्रले भने, ‘एका, दुई चामलमा बियाँ जस्ता त हरेक ठाउँमा हुन्छन् ।’ त्यति भनेर उनी उठे । हिड्न लागे जस्तो गरे ।

‘यहाँ त चामल र बियाँ सराबरी छन् । त्यसैले ले त यहाँको समाज भाँडिएको हो,’ हरि दाइले प¥याट् भने ।
‘ल है तपाईहरु बस्दै गर्नाेस्, म लागेँ । गाडी पनि आयो । बरु तपाईहरु गाह्रो नमान्नोस्, म चियाको पैसा तिरेर जान्छु,’ मित्र केसीले त्यसो भन्दै सयको नोट सानुमायालाई दिए ।
चियाको पैसा तिरेर जान्छु भन्दा कस्ले नाई, नास्ती गर्दथ्यो ! मलाई भने पाहुनालाई पैसा तिराए जस्तो लाग्यो । केही अमिल्दो लाग्यो ।

त्यति नै बेला सरोज भाइभित्र पसे । ‘निर्जलको मोटरसाइकल देखेर पसेको, चिया खान त मन
थिएन,’ उनले भने ।
‘केही काम थियो र ? ’ निर्जलले भने ।
‘भेटघाट गर्नु पनि कामै हो क्यारे नि, मन मिल्ने साथीभाइ भेट्दा गफ नि त्यस्तै खाले फुछर्न् । मन पनि हलुका हुन्छ,’ सरोज भाइले भने ।

शिव अंकल देखिए । ‘ओ हो, गाउँका वरिष्ठहरु सबै यही भेला भएका र’चन् ।’
‘पाँच कप चिया बनाऊ है सानू । फेरि खानु प¥यो, दाइहरु पनि आउनु भयो,’ निर्जलले भने । उनी यसरी गफ गर्न पाएपछि औधी होसिन्छन् । प्रायः चियाको पैसा उनै तिर्छन् ।
‘म त खान्न है,’ मैले अनिच्छापूर्वक भने ।

‘खाउँ न खाउँ । अघि मित्र सरले खुवाउनु भयो, अब म खुवाउँछु,’ निर्जलले कर गर्दै भने ।
‘खुवाउने र पैसा तिर्नेसँगको कुरा होइन । दूध चिया २\३ कप खाएपछि अहिले खाना रुच्दैन ।’
‘उसो भए फिक्का चिया खाऊँ न त, ……….एक कप फिक्का चिया है सानू,’ निर्जलले चिया खुवाएरै छाड्ने ध्येयले भने ।
चिया आयो । सबै कुर्सी भरिएका थिए । जम्मा भएकाहरु चियाको चुस्की लाउँदै बोलिरहेका थिए । सुन्नेलाई गाँसमाथि गाँस खाए जस्तो भान हुन्थ्यो । घरी घरी त बोल्नेहरु एकै चोटि बोल्थे, सुन्नेले कस्का कुरा सुन्ने ?

निर्जलले भने, ‘दिनेश, तिम्लाई मेरो पूर्ण समर्थन छ । क्लबको अध्यक्ष अब तिमी बन्नु पर्छ । क्लबमा धेरै बेथिति भयो । नाम किन लिनु प¥यो, समाजसेवाको नाममा एउटै मान्छेले जताततै हालिमुहाली गरेर हात चाट्ने र आफ्नो व्यवहार मिलाउने मात्र गरेको देखियो । अब पनि आफ्नोे ठाउँका लागि बोलिएन भने डाँडुमा पानी तताएर मरे पनि हुन्छ ।’

‘एउटा क्लब त गाउँमा चाहिन्छ । यस्तो पाराले चलाउने हो भने क्लब हुनुभन्दा नभएकै वेश,’ नवीन दाइले भने ।
‘के भयो र ?,’ सरोजले अलि चित्त नबुझे जस्तो गरे ।
यति बेलासम्म हरि दाइ स्रोता बनेर बसिरहेका थिए । एक्कासि रन्किएर भने, ‘तलाई थाहा छैन ? गाउँभरी डुन्डुन्ती गन्हाएको छ । मन्दिर वरिपरी बिजुली हाल्ने भनेर पैसा ल्याएर हसुर्नसम्म हसुरेछन् क्यारे नि ! थाहा पाएर पनि कस्तो बुझ पचाउँस् ।

‘खाएकै भन्न त मिल्दैन, बिजुलीको काम गरेकै हुन् । हिसाब पारदर्शी गरेनन् भन्ने कुरामात्र त
हो नि,’ सरोजले स्पष्टिकरणको लयमा भने ।
‘तँ आफ्ना मान्छे भनेर पक्ष न लि । हामी पनि यही गाउँका मान्छे हौँ । यो गाउँको मान्छे को कस्तो छ, राम्ररी चिनेका छौ । त्यो क्लबको सचिव ठीक छैन । झिँगाको संगत गरे रछ्यानमा, मौरीको संगत गरेपछि फूलबारीमा पुगिन्छ भन्छन् नि । संगतले गर्दा अध्यक्ष पनि बिग्रियो । ……….होइन गाँठे, गाउँमा भएको मन्दिरमा क्लबले हालेको बिजुलीको विषय यस्तो भाइरल भएको छ, हिसाबकिताब सार्वजनिक गर्न पर्दैन ?,’ हरि दाइले भने ।

‘सार्वजनिक गर्न मिल्ने भए त सार्वजनिक गरुन् त नि । अघि तपाईले भन्नु भयो नि क्लबले
भनेर । क्लबका अरु पदाधिकारी कसैलाई थाहै छैन । अध्यक्ष र सचिवले के कसरी योजना पारे । उतिका नाममा केटालाई श्रमदानमा लाएर काम गराए, आएको पैसा चिरिप्प पारे,’ मैले भने ।
‘यो कुराले चर्चा पाएपछि मैले पनि मन्दिरको बैठकमा कुरा निकाले । सचिवले माइन्युट बुक ल्याएर निर्णय नै देखाए । २०७७ चैत २१ गतेको बैठकमा निर्णय भएको रहेछ, क्लबलाई बिजुली बत्तीको व्यवस्थापन गर्ने अधिकार दिने भनेर,’ मैले सविस्तार भने ।
अघिदेखि चूप शिव अंकलले भने, ‘मैले कुरा नबुझेको, शिव मन्दिरले पनि किन दिएको रहेछ बिजुली हाल्न क्लबलाई ?’
‘सेटिङ नि …… ,’ अर्का दाइले भने ।

विषयवस्तु अलि गम्भीर भएकोले केही मान्छे बोल्न चाहेनन् । सायद हच्किए । चिया पसलमा गरेका अधिकांश कुरा त्यहाँबाट छुट्टिएपछि सम्बन्धित व्यक्तिको कानमा पुग्ने अनौठो चलन छ । त्यसैले सामाजिक कुरामा व्यक्तिलाई किन चिढ्याउने ? किन भइरहेको सम्बन्ध बिगारेर दुश्मनी मोल्ने ? तर पनि निर्जलले संयमपूर्वक भने, ‘काम गरेर खानु पर्छ नि । पसिना बगाएर खानु पर्छ । जताततै सेटिङ मिलाएर खाने । अनि समाजसेवा गरेँ भनेर नाटक गर्ने ? अचेलको जमानामा को लाटा छन् र ? यो शिव मन्दिरको विषयमा अलि गहिरिएर खोज्नुपर्छ । कति बजेट आयो ? के कसरी बजेट
प¥यो ? उपभोक्ता समितिमा को को थिए ? अनि के कसरी काम गरियो ? शिव मन्दिरमा आएको योजना किन क्लबलाई दिइयो ? काम सम्पन्न भएपछि किन हरहिसाब बुझाइएन ? अनि क्लबका अन्य पदाधिकारीलाई किन जानकारी भएन ? अरुले कानमा तेल हालेर बसे नि बसून । निदाएर बसे नि बसून्, म त खोज्छु । जताबाट आए पनि, जसरी खाए पनि हाम्रै पैसा होइन र ?’

केही क्षण शून्यता छायो । प्रसंग सेलाउन नपाउँदै सरोज भाइले थपे, ‘मलाई पनि शंका त पहिल्यै लागेको हो । ४ दिनसम्म काम गर्न गइयो । दिनभरि काम गरिन्थ्यो । बेलुका जे खाए पनि फ्रि हुन्थ्यो । खुट्टा बटारेर आइन्थ्यो । आफ्नो त पिउने बानी क्यारे । हुन त नपिउने एक जना कृष्णेमात्र हुन्थ्यो । सधै यसरी खर्च गर्ने पैसा कताबाट आयो होला ? भन्नाले कसरी खर्च गरेछन् भन्ने नलागेको पनि होइन ।’

सरोज भाइ एकछिन रोकिएर र हाँस्दै भने, ‘पछि त त्यो योजनामा भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट परेको हो भन्ने सुनियो । हाम्लाई त के थाहा त नि, शिव मन्दिरले लगाएको अह्राएको काम हो भनेर गरियो । अहिले सम्झदा त्यति बेला खाएको रक्सी र मासुको यति पछुतो लाग्दैन । हुन त दिनभरि काम गरेर खाइएको हो ।’
‘काम सकिएपछि बोको काटेर पार्टी पनि खाइयो अरे होइन ?,’ निर्जलले हसिलो मुन्द्रामा सोधे ।
‘खाइयो ।……..त्यहाँ काम गर्न गएका हामीह७÷८ जना थियौँ । अनि अरु बाहिरका मान्छे पनि
थिए । मेरो विचारमा ती कर्मचारी हुन जस्तो लागेको थियो ।’ सरोज भाइले खुलस्त पारे ।

मैले त्यति बेलाका कुरा सम्झदै भने, ‘त्यस दिन म चोकमा आएको थिएँ । दुई जनाले मोटरसाइकलमा बोको ल्याए । एक जना दाइले भने ‘कस्काँ काट्ने रहेछन् । एक किलो खानु हुन्थ्यो नि ।’ प्रल्हाद काकालाई थाहा रहेछ । उनले भने, ‘यो बोको त भाग लाएर खाने होइन अरे । क्लबको सचिवकहाँ पार्टी छ अरे ।’ त्यस विषयमा निकै कुरा चले– केको उपलक्ष्यमा पार्टी रहेछ ? बोको त ठूलै छ ? त्यत्तिकैमा कुरा मसांग्रिए । भोलिपल्ट चोकमा सुनियो, शिव मन्दिरमा बिजुली बत्ती हाल्न सहयोग गरेकालाई पार्टी दिएकोे अरे । रक्सी र मासु त फालाफाल थियो अरे । कुनै ठाउँमा यस्तो हुन्छ होला त । लाजलाई पनि लाज लाउनु पर्ने घटना !’

विष्णु गोदारका ओठ अघिदेखि नै नै चलमलाएका थिए । मैले भनिसक्ने बित्तिकै उनले थपे, ‘शिव मन्दिरमा आएको योजनाको पैसाले रक्सी र मासु खाने ! साढेले लुगा लाउदैन भनेको यही हो । अलि अलि लाज, शर्म त मान्नु पर्छ ।’
सानुमायाले चिया टेबलमा राखिदिइन् । बल्लभ बस्नेतले चिया हातमा लिँदै भने, ‘यो गाउँ बिग्रेको के कारणले हो भन्दा सबै एउटा न एउटा नाताले जेलिएका । जस्तोसुकै गल्ती गरे पनि काका, भतिज, दाइ, भाइ, भिनाजु, सालो, ठूलाबा भनेर ढाकाछोप गर्ने गरेर हो । गल्ती गर्नेकै सपोर्टमा लाग्ने भएर
हो ।’

राम्जी खत्रीले भने, ‘अब चूप लागेर बस्नु हुन्न, पानी घाटीमाथि आइसक्यो । सहनुको पनि सिमा हुन्छ । गाउँमा को छन् र पराया ? सबै आफन्त । तर यस्ता भ्रष्टाचारीलाई छोड्नु हुन्न ।’ कुन बेला हाम्रो छेउ आएर कुरा सुनिरहेका थिए बाबु दाइ, मलाई पत्तो भएन । सायद अरुले पनि हेक्का राखेनन् । नखाएको बेला खाँटी कुरा गर्ने मान्छे, आज खाएर आएका रहेछन् । उनले ‘म पनि केही कुरा राख्छु ’ भने । ‘यस्ले खायो, उस्ले खायो भन्ने होइन, सकिन्छ भने आफूले पनि मिलाएर खाने हो । को छ यो देशमा भ्रष्टाचार नगर्ने ? म त भन्छु सक्छौ भने तिमोरुले पनि खाओ, अर्काले खाएको डाहा नगरोे ।’

रक्सी खाएकाले त साँचो बोल्छन् भन्थे । खाएको बेला होस्, या नखाएको बेला होस् उनी साँचो बोल्ने मान्छे हुन् । आज किन यसरी बोले ? किन विशुद्ध चिया गफमा रक्सी मिसाए ? म सोच मग्न
भएँ ।
जति सोचे पनि उत्तर पाइनँ, उत्तर पाउने सम्भावना पनि क्षीण हुँदै गयो । यद्यपि उनी भने बकबक गर्दै थिए । उनको त्यस्तो बकबक सुन्न नसकेर सबै उठे । म पनि घरतिर लागेँ ।