कविता: नपुगिएकाे गन्तव्य, बाटाेमै छु

हिडेकाे गन्तव्य पुगिए छैन
म त बाटैमा छु
साथीहरू थाके काेहि
काेहि आत्तिएर हराए पनि
सँगै बाचाै र सँगै मराैला भनेकाहरू गले
लरबराए धेरैका खुट्टाहरू
हतासिए धेरैका मनहरू
ओसिला रातहरू जुनहरू हेर्दै
पहारिला दिनहरू घामहरू झेल्दै
बर्षिदाे आकाशलाई पसिनाले जित्दै
हिडेकाे छु, लम्केकाे छु
साथी म त बाटाे मै छु ।

मायाले बाेलाउछन् माैरीहरू
फूलहरू हेरिदिन्छु
चुनाैति देखाउछन् पहाडहरू
धैर्यले चढिदिन्छु
यी भिर र पहराहरूले
पहिरा र गल्छिडाहरूले छेक्न खाेज्छन् बाटाेहरू
म त पानी जस्तै आकारले तरिदिन्छु
सागरकाे यात्रामा साथी
म त बाटाेमा छु ।

तिमी भनाैला “खै के भाे उपहार ?”
ल्याउन सकिन भारि भारि
तिमी भनाैला “खै कहाँ छ यात्राकाे हिसाब?”
तिर्न सकिन समर्पणकाे तिराे
मुग्लान भासिएर गयाै भने पनि
मुलुक विर्सिएर परदेशी भयाै भने पनि
आशाकाे जुनलाई रातमा छाडेर
कुनैदिन सुनाैली विहानीमा
यात्रामै देख्नेछाै मलाई
बाटाेमै छु साथी

साेध्दै गर्नु हालखबर
संझाउदै गर्नु पैतला शिरकाे सम्बन्ध
निदाए भने झस्काउनु
हराए भने खाेज्नु
साथी बाटाे मै छु अहिलेलाई
बाटाे बाटै धेरै माया
बाटाेबाटै धेरै संझना ।

गन्त्तव्य नपुगेका साथीहरूमा समर्पित