ओ मेरा प्रिय कवि!
नसुत न नसुत
अरू केही दिन तिमी जाग्राम रहनु छ
जीवन जियाइका सबै थकानहरू
केही दिन तिमीले थाती राख्नु छ
ओ मेरा प्रिय कवि!
हेर त!
कस्तो घुर्मैलो छ बाहिर वातावरण
बाटो बिराएका मान्छेहरू
कहिले कुनबेला को कताबाट आएर
तिम्रो सहयोग माग्ने हुन्
कसको हार-गुहार सुन्नु पर्ने हो
कुन चट्ट्याङ कताबाट कहिले पर्न सक्छ
तिमीबाहेक अरू कसले सोच्न सक्छ
कसले भन्न सक्ला र
होचाका मुखमा घोचो हाल्न
कुन गौँडामा कुन षडयन्त्रकारी बसेको छ
तिमीबाहेक कसले पूर्वानुमान लगाउन सक्छ
ए मेरा भविष्य द्रष्टा!
यसैले हरदम तिमी जाग्राम रहनु छ
तैनाथ रहनु छ प्रतिपल
तिमी सुत्नासाथ –
यहाँ वातावरण अर्कै अर्कै होला
समयले कोल्टे फेर्ला
जङ्गलबाट बाहिर निस्केलान् ब्वाँसाहरू
अनि लुछातान गर्लान्
हाड र छालामात्र भएका मानवाकृतिहरूलाई
तिमी स्वप्नविभोर भएपछि
भुईँमान्छेका सबै सपनाहरू
एक झोक्का हावाले निमेषभरमै उडाएर लैजाला
तब कठै ती मानिसको छातिभित्र पस्न जमजमाइरहेका डुहुरे मुसाहरू
बेस्सरी रमाउलान्
अनि कुटुकुटु खाइदेलान्
अनिकालमा जोगाएर राखेको
आँटको रहलपहल बिउ पनि
मान्छे मान्छेका बिच
पर्खाल ठड्याएर लुटको साम्राज्य फैलाउन
तैनाथ हुनेहरू
अनेक भेषभूषा देखाएर
बोलीको फरक छुट्ट्याएर
अनुहारका भिन्न भिन्न बनोटहरू ऐनामा प्रतिबिम्बित गर्दै
उनीहरूको मान्यता र परम्पराको
श्रेष्ठता देखाउँदै
अर्को एउटा महाभारत लडाउन तम्सेलान्
आफ्नै सहोदरबिच
ओ मेरा प्रिय स्रष्टा !
मलाई असाद्धे डर लाग्छ
तिमी सुतेपछि
एउटा सानो हावाले नै पल्टाउन सक्ला भित्तामा झुन्डाएको क्यालेन्डरका पानाहरू
अनि तिम्रासामु उभिएलान्
पचहत्तरका ती निस्पट्ट अँध्यारा दिनहरू
अथवा फेरि फर्केला
जलियाँवालाबागको नरसंहार
हिटलरको ग्याँस च्याम्बरभित्र निस्सासिन बाध्य होला
एक्काइसौँ शताब्दीको मुटुको स्पन्दन
ओ, मेरा भरोसाका आधार!
तिमी सुते फेरि कसले जन्माउला र अर्को उधम सिंह
फेरि कहाँ कड्केला अर्को भगत सिंह
र त म आश्वस्त नभएसम्म नसुतिदेऊ
ओ मेरा प्रिय कवि!
पुनश्च – म जान्दछु,
युद्ध लड्दैनौ तिमी।
तर, युद्ध जिताउन
तिमीजस्तो भरोसाको मित्र
अर्को को छ र मेरो?
[




