राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धन: मातृका यादव

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा एमाले सहमतिमा नआए सत्ता गठबन्धन परिवर्तन हुने जनाएका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास भने गर्ने उनले बताए ।

राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो,’ यादवले भने ।

उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै पक्षमा रहेको बताए। ‘एमालेले नै राष्ट्रिय सहमतिका लागि सर्वस्वीकार्य व्यक्तित्व दियो भने त्यो हुन सक्छ। तर उहाँले हामीले नै भनेको व्यक्ति हुनुपर्छ भन्ने हो भने हामी नेपाली कांग्रेससँग गठबन्धनको विकल्प छैन। किनभने हामीसँग संघीय संसदमा ३२ जनामात्रै सांसद छन्।’

‘प्रधानमन्त्रीले अहिले पनि कांग्रेससँग कुराकानी गरिरहनुभएको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन सक्दैन भने हामी कांग्रेससँग गठबन्धन गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै हामी राष्ट्रिय सहमतिकै पक्षमा छौं। एक, दुई दिनमा बैठक गरी निर्णयमा पुग्छौं।’

संसद विघटनलगायत कुरा अब नगर्ने भन्ने कुराकानी भए पनि ओलीले प्रतिनिधि सभा बैठकमै संसद विघटनका कुरा गरेको यादव बताउँछन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। १३ गते मनोनयन गर्ने तय छ ।