पोखरा विश्वविद्यालयमा बोर्डिङका विद्यार्थीलाई पनि छात्रवृत्ति

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायद्वारा आयोजित ‘नेपालमा दिगो विकासका सम्भावन र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन पाठ्यक्रम परिवर्तन गर्ने जानकारी दिए ।

उपकुलपति अर्यालले विश्वविद्यालयमा प्रतिवर्ष विद्यार्थीको संख्या घटिरहेकाले अब सैद्धान्तिक शिक्षाका साथै प्रयोगात्मक शिक्षा आवश्यक रहेको जनाए । ‘पोखरा विश्वविद्यालयले दिँदै आएको छात्रवृत्तिमा सार्वजनिक विद्यालयका विद्यार्थीलाई ६० प्रतिशत र निजी विद्यालयकालाई ४० प्रतिशत दिने निर्णय गरेको छ । यसले विद्यार्थी संख्या बढाउनेमा ढुक्क छौं’, अर्यालले भने ।

सार्वजनिक विद्यालयका विद्यार्थीलाई मात्र धेरै प्रतिशत छात्रवृत्ति दिँदा निजी विद्यालयका विद्यार्थी १० जोड २ पास गरेपछि अध्यननका लागि विदेश जाने क्रम बढेपछि निजी विद्यालयका विद्यार्थीलाई पनि छात्रवृत्ति बढाउन लागिएको उनको भनाइ छ । पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्न सरकार र विश्वविद्यालयले अध्ययन गरी आवश्यक कार्यविधि ल्याउनुपर्ने विचार राखे ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य विनायक भद्राले नेपालमा समृद्धि र उद्योगधन्दा राम्रोसँग चल्न नसक्दा विद्यार्थी शिक्षा र रोजगारीका लागि विदेश हानिने गरेको बताए । गैरसरकारी संस्था महासङ्घ कास्कीका कार्यवाहक अध्यक्ष पदम पहारीले हरेक क्षेत्रमा राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण नेपालमा शिक्षाको गुणस्तर खस्केको उल्लेख गर्दै समय समयमा हुने बन्द हडतालले समेत विद्यार्थीको मनोबल गिराउने सुनाए ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायका डिन डा अजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्राध्यापक अर्जुनकुमार थापाले ‘नेपालमा दिगो विकासका सम्भावना र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।