मिल्यो भागबन्डा, कसको भागमा कति मन्त्रालय ?

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार दलहरूबीच सरकारको भागबन्डाको टुुंगो लगाएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको पाँच घन्टा लामो बैठकले यसको यकीन गरेको हो । नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३,३ मन्त्री र एक, एक राज्यमन्त्री दिइने भएको छ ।

जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । गठबन्धनको यही सहमतिका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले मंगलबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र नागरिक उन्मुक्तिलाई सरकारमा ल्याउन यसमा हेरफेर हुन सक्ने स्रोत बताउँछन् ।

भोलि १ बजे मन्त्रीहरूको शपथ छ। हामीले राष्ट्रपति कार्यालयमा जानकारी पठाइसकेका छौं, उपप्रधानमन्त्री रवि लामिछानेले भने, त्यसअघि केही हेरफेर हुनसक्छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सोमबार बिहान छलफलपछि उच्चस्तरीय राजनीतिक समन्वय समितिको बसेको थियो। ओली समितिका संयोजक छन्।

मंगलबार सरकारलाई विश्वासको मत दिने सबै दलका शीर्ष नेताको बैठक पनि बस्दै छ ।