चुनावमा माओवादीको साथ, हारेपछि एसमा जाँदै भुसाल

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । उनी प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए ।

शुक्रबार भुसाल एक कार्यक्रमकाबीच नेकपा एस प्रवेश गर्ने कार्यक्रम तय भएको छ । भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित होटल अर्यालमा कार्यक्रम हुँदै छ ।

एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले समर्थन गरे पनि उनले चुनाव जित्न सकेनन् । उनले चुनाव नेकपा एमालेका सचिव छविलाल विश्वकर्मासँग हारेका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनलाई शुक्रबार पार्टीमा स्वागत गर्ने कार्यक्रम छ । ती पोलिटब्युरो सदस्यका अनुसार नेता भुसाल नेकपा एसको पदाधिकारीको जिम्मेवारी पाउने सर्तमा पार्टीमा आउन लागेका हुन् ।

मार्क्सवाद, अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुचि राख्ने नेता भुसाल गत वर्ष मंसिरमा सम्पन्न भएको नेकपा एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । माधवकुमार नेपाल पक्षले नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्दा पनि भुसाललगायत १० जना नेताहरू एमालेमा नै बसेका थिए ।

तर, चुनावमा भुसालसहित नेता भीम रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएनन् । टिकट नपाए पनि नेता रावल एमालेमै बसेका छन् भने भुसालले तत्काल पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।