प्रचण्डलाई एमालेको आफरः प्रधानमन्त्री बन्नुस्, राष्ट्रपति एमालेबाट

सत्ता गठबन्धन कायम रहे आगामी ५ वर्ष एमाले सबैतिर प्रतिपक्षमा रहनुपर्ने हुन्छ । यसलाई चिर्न नेकपा एमालेले नयाँ रणनीति अख्तियार गरेको छ । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको छ ।

पाँच दलीय गठबन्धन छोडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएको सन्देश उपाध्यक्ष सुवासचन्द्र नेम्वाङमार्फत एमालेले प्रचण्डलाई दिएको छ । प्रदेशमा पनि सोही अनुसार भागवण्डा गर्ने र राष्ट्रपति भने एमालेबाट हुनुपर्ने एमालेको शर्त छ ।

पछिल्लो समय एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच संवाद भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीको दूतको रूपमा रुरघुवीर महासेठले प्रचण्डसँग र माओवादी महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीसँग बार्ता गरिसकेका छन् ।

प्रचण्ड र ओलीबीच संवाद गराउने प्रयास भए पनि अझै संवाद भएको छैन । ओलीले निर्वाचितपछि प्रचण्डलाई फोन गरेर बधाई दिएर नयाँ रणनीतिको संकेत गरिसकेका छन् ।

अहिले एमाले र माओवादीको गठबन्धन नबनेको अवस्थामा एमालेले सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुख र सभामुखसहितका पद गुमाउनुपर्ने अवस्था छ ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।