तीन मुक्तक


काट न छोरी भन्छु मान्दिन, लामा लामा नङ्ग्रा पाल्छे
पार्लर धाइरहन्छे बेला बेला आँखीभौँ खुर्केर फाल्छे
भान्छामा काम गर्दा त टिकटक नबनाउनु नि हौ गाँठे
कहिले भात डढाउँछे, कहिले तिहुनमा चिनी हाल्छे !

केही आश छैन भो मलाई, यस्ता छोराले के पाल्छ ?
लाग्छ, गाडीमा हालेर लान्छ र वृद्धाश्रममा फाल्छ
बाबु एक गिलास पानी देउ नभन्छु, म सक्दिनँ भन्छ
उता जिमखाना गएर पचास किलोको फलाम उचाल्छ !

ओल्लो पल्लो छिमेकीले सोध्छन् आमा घरमा के कस्तो छ ?
अब साँचो बोल्नु कि झुठो बोल्नु खोई, आफ्नो हालत यस्तो छ
न कसैले सन्चो बिसन्चो सोध्छ, न कसैले खायौ खाइनौ सोध्छ
बुहारी भनाउँदी बाघ जस्ती छे, छोरो भनाउँदो स्याल जस्तो छ !