कास्कीमा टुट्यो सत्ता गठबन्धन

कास्की सत्ता गठबन्धन टुटेको छ । पोखरा महानगरको मेयरमा नेकपा एसलाई सघाउने र बाँकी सबै पदमा एकल उम्मेदवारी दिने कांग्रेस कास्कीले निर्णय गरेको छ ।

केन्द्रीय सत्ता गठबन्धनको निर्णय भएकाले पोखराको मेयरमा एकीकृत समाजवादीका उम्मेदवारलाई नै समर्थन गर्ने र बाँकी सबै पालिका तथा वडामा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । उपमेयरका लागि नेपाली कांग्रेसबाट आठ जनाको नाम सिफारिस भए पनि उम्मेदवारी कसले दिने भन्ने टुङ्गो लागेको छैन ।

कांग्रेसले पोखरा महानगरपालिकाको मेयरलगायत सबै पालिका र वडामा उम्मेदवारी दिनुपर्ने मागसहित नेता कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा आज आइतवार तालाबन्दी तथा नाराबाजी गरेका थिए ।

कास्की कांग्रेस सभापति किशोरदत्त बरालले कास्कीमा मित्रवत प्रतिश्पर्धा गर्ने निर्णय भएको बताए ।