सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएरमात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । रिट खारेजसँगै हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने भएको छ ।
न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको हो । निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको छ ।
आयोगले यस पटक २०७४ मै कार्यान्वयन गरेको नियमावलीको प्रावधान अनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति उम्मेदवार हुन नपाउने गरी स्वघोषणाको व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।




