प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली कांग्रेसलाई माधव नेपालसहितका १४ सांसदमाथि कारबाही या सभामुख अग्नि सापकोटालाई हटाउन तयार भएमा सहकार्य दोहोर्याएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार राति भएको वार्तामा यी माग पूरा भएमा एमसीसीबारे तत्कालै निर्णय लिने एमालेको भनाइ छ । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेको एउटा एजेन्डा सम्बोधन भएमा एमसीसीबारे संसदमा छलफल गरेर निकास दिन सकिने कुरा भएको बताए।
ज्ञवालीले यदि त्यो कुरा पनि पूरा हुन नसक्ने हो भने ताजा जनादेशमा जान तयार हुनुपर्ने अडान राखेको सुनाए । ुहाम्रा कुरा सामान्य छन्। यदि हाम्रो मागमा सुनुवाइ हुँदैन भने हामीले त पहिलेदेखि नै ताजा जनादेशको कुरा गरिरहेका छौँ। यो संसदले काम गर्न सकेन। केही नेताहरुले यसलाई बन्दी बनाए । त्यसो भएकाले अब निर्वाचनमा जाऊँ। जनताबीचमा हामीले छिटो जानु परेको छ। संसद विघटन नगरी पनि अर्ली इलेक्सन गर्न सकिन्छ।ु
यो वार्तामा एमसीसी पास गर्ने विषय र संसदको गतिरोध हटाउनेबारे छलफल भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।




