दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।
समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिससमेत गरेको छ ।
२०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा एसएसबीका जवानले लट्टा खुस्काइदिएका थिए ।
घटनाको दुई दिनपछि गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सम्मिलित छानबिन समिति गठन गरेका थिए ।




