एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ ।
पाँच महिना लामो एकता प्रयास असफल भएपछि एमाले विभाजन हुन लागेको हो । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई बल पुर्याएको छ ।
नेपाल समूहका नेता विरोध खतिवडाले अध्यादेश जारी हुने बेलासम्म एकतामा प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने जानकारी दिए ।
निर्वाचन आयोगमा एमालेमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जनाको हस्ताक्षर संकलन भएको छ ।
अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको हस्ताक्षर पर्याप्त हुनेछ ।
नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र कोस्टमा केही थप्ने टुंगो भइसकेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको छ ।
केन्द्रीय कमिटीका पदाधिकारीमा अध्यक्ष र वरिष्ठ नेता राखिने भएको छ । ६० देखि ९० सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ ।




