प्रतिवादका निम्ति तयार रहनू : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।

एमाले केन्द्रीय कमिटीको दशौं बैठकमा ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको र प्रतिवादका लागि तयार हुनुपर्ने बताएका हुन् ।

कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको उनको भनाइ छ । उनले आफू नेतृत्वमा रहँदा सरकारले धेरै राम्रा काम गरेपनि केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि सरकारले गरेका राम्रा कामहरूको विरोध गरेको दाबी गरे ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता माधव नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार बैठक मंगलबार ३ बजे फेरि बस्नेछ ।