फेवावरिपरि पदमार्ग बनाउन डेढ करोड

- पोखरा महानगरले पर्यटन गुरुयोजना बनाउने र छुट्टै पर्यटन शाखा स्थापना गर्ने

पोखरा महानगरले फेवातालवरिपरि पदमार्ग बनाउने भएको छ । आर्थिक वर्ष २०७७।७८ को बजेटमा फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।

होमस्टेहरुको क्षमता विकास गर्ने, पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका संघ संस्थाहरुसँग हातेमालो गर्ने, पर्यटन प्रवद्र्धनको लागि फेस्टिबल, महोत्सव, तथा विशेष कार्यक्रमहरु आयोजना गरिनेछ ।

महानगरले आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तयार गर्ने भएको छ । महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिनेछ । पर्यटन बसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ । यसका लागि २० लाख विनियोजन भएको छ ।

पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिनेछ ।

पोखरा ६ मा रहेको वसुन्धरा र कामागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट छ ।

पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्ने गरी संभाव्यता अध्ययन गरिने भएको छ । पोखरा वडा नम्बर ४ मा ‘कोसेली घर’ बनाउन प्रस्ताव गरिएको छ ।

पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु आवका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

उपमेयर मञ्जु गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६।४ प्रतिशत छुट्याइएको छ । पुँजिगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।