कथा: बलबाहु

‘यो घडिलाई कति हाल्नु भो ?’ नेता रामचन्द्रले कार्यकर्ता बलबाहुलाई सोधे | तीन हजार भन्दै बलबाहुले नेताको मुखमा हेरे | नेताले ओठ लेप्राउदै भने – यस्तो पत्धुलाई पनि तीन हजार ! काहाँ किन्नु भएको हो ? बलबाहुले नजीकैको पसलतिर औलाउदै भने – यहि पसलमा किनेको त हो | रामचन्द्र अल्लमल्ल पर्दै कुरा बङ्गाए – उ उता हेर्नु होस त कति राम्री केटी ! बलबाहु रामचन्द्रले देखाएतिर हेरि भने – हजुरकी छोरी राम्री नभएर भयो त | रामचन्द्रले अध्यारो मुख लगाए | बलबाहुले उनलाई खुसी पार्ने मनसायले राजनैतिक कुरा निकाले – यस्ता गुण्डा मन्त्री बनेका छन् । अब देश कता जाने हो ? अब नेताबाट चार पाँचवटा वाक्यमा चोटिला खुराक आउछन् भन्ने अपेक्षासाथ बलबाहुले उनको मुखमा हेरे | तर नेताको मुखाकृति अझै बिग्रिएको पाए | बरु नेताले बेप्रसङ्गको कुरा निकाले – संसार परिवर्तशिल छ | कुनै परिवर्तन हुन लामो समय लाग्दछ, कुनै छीटै | तीन सेकेण्ड आयु भएको जीवदेखि तीन सय वर्ष आयु भएका कछुवा पनि छन् ।

तिनीहरुको छेउमा विभिन्न सामान भएको एउटा पसल थियो | यो पसलमा तीर(बाण) र ढाल(कवज) पनि पाइन्थ्यो | तारो हान्ने प्रतियोगिता समेत हुने चाडपर्व नजीकै आएकाले यस्ता वस्तुको माग बढेको थियो | बलबाहु अघिल्लो दिन मात्र गाउँबाट फर्केका थिए | दुर्गम ठाउँ भएकाले पन्ध्र दिन जति बलबाहु संचारबाट पूर्ण बन्चित भएका थिए |

पसले र एकजना ग्राहकवीच छलफल भएको थियो | पसलेले तीरहरुको बखान गरिरहेका थिए – यी तीरहरु यति तीखा छन्, जेसुकै पनि छेडन सक्दछन् | त्यसपछि ग्राहकले कवचको मुल्य र कुन जनावरको छालाबाट बनेको हो भनि सोधे | पसलेले यो बलियो छालाबाट बनाएको हो | यसलाई कुनै चीजले छेडन—-भन्दै गर्दा रोकिए | उनले केहि रिसाएको भावमा भने – तपाईंलाई चाहिएको के हो ? तीर कि कवच | सबै सामानको बारे भन्ने मलाई फुर्सद छैन | ग्राहकले भने – दुबै चाहिएको हो | त्यसो भए पहिला एउटा किन्नुहोस, त्यसपछि अर्को, भन्दै पसिना पुछे | ग्राहकले भने —|

नेता हिडिसकेका थिए | बलबाहु त्यहि पसलतिर हेरेर उभिरहेका थिए | रामचन्द्र र बलबाहुवीच केहि समय पहिले भएको सम्पूर्ण कुराकानी ती ग्राहकले तथा पसले र ग्राहकवीचको भएको कुराकानी बलबाहुले सुनेका थिए | ती ग्राहकले दसवटा तीर किनेर बलबाहु भएको ठाउँमा आए | ती दुई जनावीच सामान्य परिचय भयो | ती ग्राहकले आफ्नो नाम संगम भएको बताए | बलबाहुले भने – तपाईंले पसलेलाई उनैको तीरले उनैको कवचमा हान्दा के हुन्छ भनि सोधेर अक्क न बक्क बनाउनु भयो नि ! संगमले भने – यो पसल तीनै नेताको त हो | आफु देखिएका छैनन् सालालाई अघि सारेका छन् । तपाईंले पनि नेतालाई जानेर हो वा नजानिकन हो दनकै दिनु भयो नि | बुढा कस्ता आफ्नै छोरीलाई पनि नचिनेका | मलाई त हाँसो थाम्नै मुश्किल भयो |

तपाईं हामी र नेताले एक हप्ता अघिसम्म गुण्डा भनिएका त अहिले तीनै नेताको पाटीमा प्रवेश गरि मन्त्रि भैसकेका छन् नि | तपाईंलाई थाहै रहेनछ | बलबाहुले भने – ए होर ! म त गाउँमा गएको थिए, यता त पासा पल्टिसकेको रहेछ | पन्ध्र दिन अघि यीनै व्याक्तिको विरोधमा नारा लागाउदा लागाउदै बसेको घाटी अझै खुलेको छैन | अब फेरि समर्थनमा जिन्दावाद भन्नु पर्ने होला | संगमले कुराको बिट मार्ने हिसाबले भने – यस्तै हो ! युध्द, राजनीति र कुन्नि कस्को भर र लाज हुन्न भन्दथे हो रहेछ | अन्यथा नमान्नु होला, तपाईंको नामै बलबाहु(हनुमान) रहेछ | कुरा बुझने हो तर हनुमानै हुनु राम्रो होइन | त्यसपछि बलबाहु र संगम केहि समय एक अर्कोलाई चुपचाप रहि हेराहेर गरे |