कथा: धार्मिक र आध्यात्मिक

कुलानन्द त्यो दिन निराहार तथा कसैसंग नछोइकन मन्दिरमा घण्टी चडाउन जादै थिए | उनले धेरै किसिमका टिका लगाएका थिए | समुद्रले उनलाई बाटोमा भेटेका थिए | पन्ध्र मिनेट जति यी दुबै जना जाने बाटो एउटै थियो | कुलानन्दले आफ्नो वार्षिक धार्मिक योजना सुनाए – यो वर्ष ठूलो सप्ताहा लगाउनु परेको छ | होम गर्नको लागि एक मुरी जौ र एउटा ठूलो टिन गाईको घिउ खोज्नु छ | कोटमा पन्चौल ( पन्चवलि) हाल्नु छ —| यसरी अन्न घिउ नष्ट गर्नु भन्दा त खान नपाउनेलाई दिदा राम्रो हुन्थ्यो, समुन्द्रले सुझावको शैलीमा भने | जोगीलाई एक मुठीको हिसाबले भिक्षा दिदा पनि वर्षको चार माना चामल त सकिन्छ होला भन्दै समुद्रतिर फर्केर कुलानन्द खिस्स हाँसे |

बाटो मुनि रालो भिरेका खच्चरहरु चरिरहेका थिए | यसले कुलानन्दलाई रथ तान्ने घोडाको दुबै आँखाको दायाँ बायाँ छेक्ने वस्तु सम्झायो | उनले त्यसको नाम समुद्रलाई सोधे | समुद्रले उत्तर दिए – त्यो टमटम हो | यसले घोडालाई सीधा हिडने गराउँछ | त्यसपछि कुलानन्दले केहि क्षण इतर धर्मको निन्दा गरे | समुद्र टक्क रोकिएर एउटा रुखको टुप्पामा हेरेर भने – यो रुख त त्यो पाहडभन्दा पनि अग्लो रहेछ | कुलानन्दले पनि हेर्दै भने – काहाँ अग्लो हुनु, हामी यो रुखको नजिक भएर पो हो | केहि पर बाटोसंगै जोडिएको गोठमा एउटा दुब्लो गाई र मोटो भैसी बाँधेका देखिए | समुद्रले ती चौपाया बारे टिप्पणी गरे – गाईलाई खान नदिने रहेछन् कि कसो ? कुलानन्दले गाईको बारेमा यसो भने – यो गाई गहुत र एक मुठी धार दिने दुधको लागि पालेको जस्तो छ | बिहानै गाई र छोरीलाई ढोग ग-यो भने एउटा तीर्थ गरे जति धर्म हुन्छ | समुद्रले भने – छोरी गाई छोरा भैसी | ठिकै हो अवसर र सुविधा छोरालाई |

कुलानन्दले अर्को प्रसङ्ग लिकाले – मैले त पितृ उद्धारको लागि भागिरथ प्रयास गरेको छु | समुद्रले कुलानन्दको भनाइ अतिसयोक्ति भएको ठाने – यो अल्ली बढी भयो कि ? राजा भागिरथले आफ्ना पितृ उद्धारको लागि स्वर्गबाट गंगा नदी पृथ्वीमा ल्याएको कथा छ | त्यसैले ठूलो प्रयासलाई भागिरथ भनिएको हो | मैले त पुर्खाको सम्झनामा अपाङ्ग असक्तको भलाइको लागि एउटा सानो अक्षय कोष स्थापना गर्ने सोचमा छु | कुलानन्दले गर्वसाथ भने – म काशी बद्रि मुक्तिनाथ मात्र होइन मानोसरोवर समेत पुगे | मैले दैनिक नुहाउँछु पुजापाठ गर्दछु | समुद्रले भने – हजुरको ठाउँ त नेपाने हो | कुलानन्दले भने – चोखो हुने त हो | एक माना पनी भए पुगि हाल्दछ | सफा हुन भन्दा चोखो हुन सजिलो रहेछ भन्दै समुद्र मुसुक्क हाँसे |

आज तपाईंसंगै मन्दिर पसेर रक्तदान गर्न जानु पर्ला | मैले त अहिलेसम्म आठ पटक रक्तदान गरि सके भन्दै समुद्रले कुलानन्दलाई हेरे | म जस्ताले त के रक्तदान गर्ने ? जम्मा पाँच मुठी रगत होला भनि कुलानन्द खिस्स हाँसे | समुद्रले दानको बिषयमा आफ्नो धारणा राखे – दसदान गर्ने भनेको आफ्नो कमाइको दस प्रतिशत परोपकारी कार्यमा खर्च गर्नु भनिन्छ | कुलानन्दले आफ्नो मनको कुरा राखे – मर्ने बेलामा एक किलो नुन, एउटा फलामको टुक्रा, बेसार, एक मुठी माटो —दसथरि वस्तु त दान गर्नै पर्दछ | समुद्रले कुलानन्दको परिवार बारे जिज्ञासा राखे | कुलानन्दले आफ्नो परिवार बारे जानकारी दिए – छोराको पोहर मात्र वर्तबन्ध भयो | दोस्रो भातेबाट जन्मेको छोरो हो | पहिलो भातेमा उकाल्न पोहरबाट आमाले पकाएको खान दिएको छैन | जन्म दिने आमाको हातले पकाएको नखाने यो त अति भो ! समुद्रले कुलानन्दतिर हेरेर आँखा ठूला पारे |

कुरा गर्दा गर्दै तिनीहरु मन्दिर देखिने ठाउँमा पुगे | एउटा ठूलो मन्दिर र त्यसको वरिपरि छवटा स-साना मन्दिर देख्दा गाँउको ठूलो मुखियाको घर र अरु रैतीका घरहरुको झझल्को दिन्थ्यो | एकान्त बाटोमुनि एकजना डाले घाँस काटदा रुखबाट खसेका रहेछन् | उनको खुट्टाबाट रगत बगिरहेको थियो | उनी उठन सकिरहेका थिएनन् | उनले गुहार मागिरहेका थिए | समुद्र यो देखेपछि ती घाइते व्याक्ति भए ठाउँमा हतारिदै पुगे | समुद्रले कुलानन्दलाई सहयोगको लागि ओर्लन भने | तर कुलानन्द सुनेको नसुने झै गरि हेरि मात्रै रहे | त्यतिनै खेर एक जना बटुवा त्याहाँ आइ पुगे | उनले समुद्रसंग मिलेर घाइतेको सहयोगमा तुरुन्त जुटे | ती बटुवाले कुलानन्दतिर फर्केर भने – उहाँ किन हेरिरहनु भएको छ ? समुद्रले यस बारे यसो भने – उहाँ धार्मिक मनिस हो | उहाँ पूजा गर्न मन्दिर जादै हुनु हुन्छ | ती बटुवाले भने – उहाँ धार्मिक मानिस तपाईं आध्यात्मि मानिस | समुद्रले ती घाइतेलाई बोक्दै गर्दा भने – अरुको पीर मर्का बुझने तपाईं झन मार्मिक !