पोखरेलको सपथ रोक्न निवेदन, ३ एमाले सांसदले दिए राजीनामा

लुम्बिनी प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरूले एमालेका नेता शंकर पोखरेलसँग बहुमत नरहेको भन्दै शपथ रोक्न लिखित निवेदन दिएका छन् ।

कांग्रेस प्रमुख सचेतक फखरुदीन खानले मुख्यमन्त्री शंकर पोखरेलसँग एकल बहुमतको सरकार बनाउन बहुमत नरहेको बताए ।

प्रदेशसभाका ४० सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर शपथ रोक्न लिखित निवेदन दिएका हुन् । ८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद थिए । तर, दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित विमला ओलीले माओवादी केन्द्र रोजेपछि एमालेको प्रदेशसभामा ४० सदस्य कायम भएको छ ।

४० सांसदको हस्ताक्षर रहेको निवेदनमा माओवादी केन्द्रका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर १ क बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ ख बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।