ब्रह्माण्डीय नाप नक्सामा नेपाल सानो मुलुक हो । तर नेपाल आफै भित्र बिशाल एवं अति सुन्दर देश हो भन्ने कुरा सारा संसारले देखिसकेको छ, बुझिसकेको छ ।
संसारमै ऐतिहासिक विशाल अस्तित्व ‘वीर गोर्खाली’ नामले परिचित, भगवान गौतम बुद्धको जन्म भएको देश एवं संसारमै उच्च भूभाग सगरमाथा रहेको यो देश आफ्नै मौलिक उच्च व्यवहारले परिस्कृत छ ।
हामी भित्र थुप्रै सम्पन्न र विकसित देशको सपना बर्षौंदेखि जरो गाडेर बसेको छ । पूर्खाले एकिकरण गरिदिएको नेपाल हामीले गौरब गर्ने थुप्रै कारणहरू हामीलाई छाडेर गए । हामी त्यसैमा रमाइरहेका छौं । तर हामीले पछिका पुस्तालाई गौरब गर्ने एउटा पनि कारण नबनाई सित्तैमा जाँदैछौं ।
अरु त के कुरा वार्षिक बजेट सरकारले बनाउदा अझै पनि ५० प्रतिशत भन्दा बढी पुराने ढर्राको वैदेशिक सहयोगमा भर पर्नुपरेको छ ।
हामी अझै पनि संसार रुपा बसमा पछाडिको सिटमा बसेर रमाउदै यात्रा गर्ने २१औं शताब्दीको निरीह मानव बनेका छौं भन्दा फरक नपर्ला ।
हाम्रो शिक्षा, राजनीतिक संस्कार र सामाजिक अवस्थाले हाम्रो सोच निर्माण गरिरहँदा उच्च पद एवं पैसाको भण्डारणमा मात्र हामी लागिरहेको हो जस्तो लाग्छ । हाम्रो समाज, रहनसहन र संस्कारहरूले हाम्रो सोचको निर्माण गरिरहेको हुन्छ ।
त्यही सोंच नै हरेक निर्णयको आधार हुने गर्छ । हरेक कार्यान्वयन पक्ष हामीले गरेको निर्णयको आधारमा हुने गर्छ । यसले हाम्रो वर्तमान अवस्था दर्शाउँछ । त्यसैले हामी कस्तो हुने भन्ने कुरा हाम्रो सोचमा अडेको छ । अहिले हामी सबैको सोंच बद्लिएको छ । किनभने हाम्र रहनसहन, शिक्षा र राजनीतिक संस्कार बद्लिएको छ ।
शिक्षातर्फ हेर्दा नैतिक, सामाजिक, संस्कृत एवं आध्यात्मिक मूल्य र मान्यताका पुस्तकहरू गायब छन् । स्कूल बेलाको मस्तिष्कमा यी विषयहरू घुमाउने सकिएन भने ठूलो भएपछि सेट भैसकेको दिमागमा छिर्न गाह्रो हुन्छ ।
९, १० कक्षाको बच्चाले कुन देशमा जाने सोच्न थालिसकेको हुन्छ । यस्तो लाग्छ नेपाल भनेको यो धर्तीको एउटा यस्तो ठाउ हो जहाँ बच्चाहरू जन्मिन्छन, हुर्किन्छ, बिदेशमा कर्म गर्नको लागी तयार पारिन्छ । विदेशको शासन प्रणाली, शिक्षा, रोजगार र जीवनशैलीले जानीनजानी उतैको भएर बस्छन् ।आफ्नो जन्म देशलाई परदेश र परदेशलाई आफ्नो देश बनाउँछन् ।
राजनीतिक पाटो हेर्दा पनि अकुत सम्पत्ति संग्रह गर्ने र छिमेकी एवं बाह्य मुलुकलाई खुशी बनाउँदै सधैं सत्तामा टिकिरहने सत्तामुखी शैलीले गर्दा शासन प्रणाली झन्झन् कमजोर बन्दै गइरहेको छ ।
हामीहरूले सधैं गाली गर्दै आएको जंगबहादुरले अंग्रेज शासकलाई खुशी बनाए पछि के माग्छौ माग्नु भनेपछि उनले व्यक्तिगत फाइदाका कुराहरू नमागी नयाँ मुलुक मागे । जसले गर्दा नेपालमा ५ वटा थप जिल्लाहरू थपिए ।
दक्षिणी साधँमा सीमाना छु्ट्याउनका लागि जंगें पिल्लर लगाए । तर आजको सरकारले त्यही जंगें ढलेको पिल्लर उठाएर गाड्न सक्दैन । त्यसैले हिजोको वीर गोर्खाली आज आएर काँतर नेपालीमा रुपान्तरण भएको हो कि भन्ने भान हुन्छ ।

कुनै पनि देशको विकास एवं समृद्धि भनेको राजनीतिक नेतृत्वका अग्रजहरूले कोरेको खाकाबाट हुँदै जाने हो । त्यसका निम्ति नेताहरूको विद्वता र क्षमता उच्चस्तरको हुनुपर्छ । सिंगापुरको शासक लि क्वान यू अक्सफोर्ड विश्व विद्यालयमा पढे र उनले कोरेक खाकाबाट संसारकै उत्कृष्ट देशक रुपमा स्थापित हुन आयो ।
यस्तै मलेसिया, दक्षिण कोरिया, चीन आदि देशहरू विश्वमा अग्रपंक्तिमा उभिएका छन् । तर हाम्रो देशमा पढेलेखेकाहरूको भन्दा राजनीतिमा पनि राजनीति मात्रै गर्नेहरू अगुवा भएका छन् । हामीहरूले उनैलाई पत्याएका छौं । र आज राजा बिनाको शासनकालमा पनि राष्ट्रिय उन्नतिका उदाहरणहरू पस्किन नसक्ने अवस्थामा छौं ।
भ्रष्टाचारले संस्थागत रुप लिएको छ, शिक्षा, स्वास्थ्य, खानेपानी एवं आहारमा महंगीले । बिकराल रुप लिएको छ । निजीकरणको नाममा देशको औद्योगिक संरचनाहरू कौडीको मोलमा जग्गासहित बिक्री गरे । त्यसबेलामा सम्बन्धित व्यक्तिहरू निजीकरणक नाममा अनुग्रहित पनि भए होलान् । जुन आज आएर त्यसैको सिकोमा देश भ्रष्टाचारको दलदलमा डुबेको छ ।
यहाँ अहिले यस्तो पनि भइरहेको छ कि सरकारी सिपालु कर्मचारीहरू सरकारको नीति तथा कार्यक्रमलाई जनतालाई आभास हुने गरी काम गरेर सरकारको विश्वासनीयता बढाउन लाग्नुपर्नेमा अभियान्ता बनेर नागरिकमार्फत ती कामहरू गरिरहेका छन् । त्यो पनि नीतिगत भ्रष्टाचार नै हो भन्दा बढी नहोला ।
त्यस्तै गरी आध्यात्मिक वा धार्मिक क्षेत्रमा पनि यो देश कमजोर देखिएको छ । नेपाल भित्रै ठूला धार्मिक क्षेत्र भएता पनि त्यसलाई बुझाउन वा प्रचार गर्न नसकिएको कारणले गर्दा बर्षेनी नेपालीहरू ५०औं हजारको संख्यामा भारततिर लागिरहेका छन् ।
प्रतिव्यक्ति भारु ५ हजार यात्रा खर्च र प्रतिव्यक्ति भा रु ५ हजार सामान खरिदको हिसाब गर्दा मात्र पनि ५० करोड भारु खर्चिएको देखिन्छ । अर्थात् ५० हजार नेपाली भारतमा धार्मिक भ्रमणमा निस्कँदा भा रु ५० करोड (ने रु ८० करोड) खर्च हुने रहेछ । वर्षौं अघिदेखि धर्मको नाममा गरिरहेको यस्तो भ्रमणले नेपाललाई कति गरीब बनाइरहेको छ आफै हिसाब निकाल्नुहोला ।

यस्तैगरी जुन काममा नेपालीहरू विदेशिरहेका छन् त्यही काम गर्न विदेशीहरू लाखौको संख्यामा नेपाल छिर्ने गर्छन् । भारतमा विदेशमा काम गरेर भित्र्याउने रिमिटेन्समा नेपाल सातौंै स्थानमा छ भन्दा तपाईहरूलाई पत्यार नलाग्न पनि सक्छ ।
हाम्रो सामाजिक संरचना पनि अलि नमिल्दो हो कि भन्ने लाग्छ । जन्मिंदै भगवानले हातमा शिप बोकाएर पठाएकाहरूलाई हामीले तल्लो जातको रुपमा राख्ने गर्यौं । जसको मान हामी समान वा अझ माथि हुनुपर्ने हो उसैलाई तल धकेल्यौं ।
त्यसैले यहाँ श्रमिको सम्मान अझैसम्म पनि छैन भन्दा हुन्छ । अनि दबिएको मानसिकताले नयाँ श्रृजना कसरी गर्न सक्छ ? उदाहरणका लागि मन्दिर उसैले बनाउने र ऊ नै त्यही मन्दिरमा जान नपाउने सामाजिक नियमले उनीहरूलाई अत्यधिक पीडा दिएको छ । अब यसको अन्त्य हुनुपर्छ ।
अन्तमा, हामीहरू मनले हार्यौं, तनले हार्यांै, बुद्धिले हार्यौं र कर्मले पनि हार्यौं । यस्तो चारैतर्फ हारैहार खेरिरहेको मुखले काम्दै काम्दै राष्ट्रवादको नारा लगाउछौं । हामीले हाम्रो रहनसहन, रीतिथिति, सामाजिक मूल्य र मान्यता सबै कुराहरू पैसा र पदमा मात्र केन्द्रित गरेर खोज्न थाल्यौं । घरैपिच्छे कुनै न कुनै संस्थाका कार्यसमितिका सदस्यदेखि लिएर अध्यक्षहरू छन् । वर्षमा हजारौं सयपत्री फूलको माला र खादाहरू यही सदस्यदेखि अध्यक्षसम्मका लागि लगाइदिंदैमा जाने गर्छ । त्यसैले हाम्रो शिक्षा, सामाजिक र राजनीतिक परिवेश बदल्नुपर्छ ।
स्कूलका पाठ्यक्रमहरूमा नेपाल देश र राष्ट्र चिनाउने गर्नुपर्छ । हाम्रो ऐतिहासिक मूल्य र मान्यता बुझाउनुपर्छ । हाम्रो धर्म, संस्कृतिको बारेमा गहिरो रुपमा घुसाउनु पर्छ । हामी के थियौं, हामी कस्तो देशको कस्तो नागरिक हौं, हाम्रो जिम्मेवारी र कर्तब्य के–के हुन् आदि कुराहरू सानैदेखि मन र मस्तिष्कमा राखिदिने हो भने ठूलो भएपछि पक्कै पनि यो देशको असल नागरिक हुनेछ ।
यो देशको निम्ति केही सोच्ने छ र गर्नेछ । शिक्षा त्यस्तो होस्, जसले गर्दा ठूलो भएपछि यो देशको बारेमा सोच्ने, मनन गर्ने र देशको निम्ति केही गर्ने जोश, जागर र सामथ्र्य पैदा गर्ने बल बढाओस् । हैन भने कालान्तरमा गएर परदेशीहरू नेपालका शासक हुनेछन्।
नेपालीहरू आफ्नै देशमा परदेशी बन्नेछन्। जसै गरे पनि हामी दोश्रो दर्जाको नागरीक बन्दै जानेछौं । बेलैमा चेतना भया । जबसम्म आर्थिक स्वार्थका निम्ति देशको राष्ट्रिय स्वार्थसंग सम्झौता गर्ने मन हट्दैन, तबसम्म यो देशको भलो कहिल्यै हँुदैन । जस्को कारणले यो देशको नागरिकको पनि कहिल्यै भलो हुने छैन । अस्तु !




