ताजा समाचार

कार्तिक ११ गते २०७६

उज्यालो दीपावलीको शुभकामना

नेपालीहरूको दोश्रो ठूलो पर्व तिहार घरदैलोमा आइसक्यो । शास्त्रीय परम्परा अनुसार यमपञ्चक शुरु भएपछि तिहार शुरु भएको मानिन्छ । तिहारका ५ दिनमध्ये पहिलो दिन काग तिहार, दोश्रो दिन कुकुर तिहार, तेश्रो दिन लक्ष्मी पूजा अर्थात् गाई तिहार, चौथो दिन गोर्वधन पूजा अर्थात गोरु तिहार र अन्तिम दिन भाइटीका लगाएपछि विधिवत् रुपमा तिहार सकिन्छ । तिहारमा द्यौसीभैली खेलेर रमाईलो पनि गरिन्छ ।

मधेशी समुदायले लक्ष्मीपूजाका दिन दीपावली गरेर धूमधामसँग मनाउँछन् । नेवार समुदायले तिहारका सबै दिन पूजाआजा गरे पनि उनीहरूले तिहारको चौथो दिन विशेष रुपमा ‘म्ह’ पूजा गर्छन् । त्यस दिन नेपाल संवत् अनुसार नयाँ बर्ष पनि हो । त्यसैले नेवार समूदायले तिहारलाई विषेश पर्वको रुपमा मनाउँछन् ।

तिहारको आफ्नै साँस्कृतिक परम्पराहरू भए पनि हिजोआज तिहार पर्व तडकभडक गरेर मनाउने प्रचलन बढेको छ । तिहारमा दीपावलीको नाममा लाखौं खर्चेर घर सिँगार्ने, झिलिमिली बत्ती बाल्ने, पटाका, भुइँचम्पा पड्काएर उत्सव मनाउने, जाँड रक्सी खाने र जुवातास खेल्ने जस्ता बिकृति बढेर गएको छ । सरकारले यस्ता कुरामा कडाई तर कमि आउन सकेको अवस्था छैन । विशेष गरि जुवा तास खेल्नेहरू धमाधम पक्राउ परे पनि उनीहरूले खेल्न छाडेका छैनन् । गीतमा केही शब्द उच्छृंखल भयो भन्दै कार्वाही गर्ने राज्यका निकाय करोडौं रुपैयाँ बाजी थापेर जुवा खेल्नेप्रति कडा बन्न सकेको छैन ।

यस्तो गर्न धनी र कमाई हुनेले त सजिलै खर्च जुटाउलान् तर, प्रशस्त कमाई नहुँनेहरूका लागि तिहार पर्व महँगो र असहज बन्दै गएको छ । यस्तै धनी र कमाई हुनेका दिदीबहिनीहरूले दाजुभाइका लागि महँगो खाने र लगाउने उपहारहरू लगिदिने, दाजुभाइले पनि धेरै दक्षिणा दिएको देखासिकी गर्दा गरीवहरूले टाउको उठाउनै नसक्ने अवस्था आएको छ । हिन्दूका चाडपर्वहरूमा अनावश्यक खर्च र तडकभडक बढ्दा अधिकांश गरीवहरूले चाडपर्व मनाउन छाडेका छन् । यसरी चाडपर्वको नाममा बिकृति बढ्दै जाँदा हिन्दू धर्मप्रति नै अनास्था बढेको र कतिपयले त धर्म परिवर्तन गरेको पनि हामी पाउँछौं ।

नेपाल धर्म निरपेक्ष राष्ट्र हो, यहाँ आफ्ना चाडपर्वहरू सौहार्दतापूर्वक मनाउन सबैलाई छुट छ । नेपालको कानूनले कुनै पनि चाडपर्वहरू सरल र सहज ढंगले मनाउनु पर्ने उल्लेख गरेको छ तर चाडपर्वको नाममा कसैले अनावश्यक तडकभडक र जथाभावी गरेमा त्यो दण्डनीय अपराध मानिन्छ । चाडपर्वको मौका छोपेर कतिपय व्यवसायीहरूले मालसामनको कालो बजारी गर्ने, खाद्यवस्तुमा अखाद्य वस्तु मिसावट गर्ने, म्याद गुज्रेका खाद्यवस्तु विक्री गर्ने, गाडीभाडा दोब्बर अशुल्ने गरेको पनि पाइएको छ ।

यस्तै रमाईलोको नाममा लाखौंलाख बाजी राखेर जुवा तास खेल्ने, खेलाउने, पटकालगायत विष्फोटक पदार्थ ओसारपसार, बेचबिखन र पड्काउने कार्य गर्ने दण्डनीय अपराध हो । अपराधिक कार्य नबढोस् भनेर स्थानीय प्रशासनले अनुगमन र कार्वाही पनि गरिरहेको छ । यस्तोमा चाडपर्वलाई मर्यादित बनाउन हामी सबैले योगदान गर्न आवश्यक छ । तिहारमा आफ्नो संस्कृतिको रक्षा गर्दै सरल रुपमा मनाऔं, हाम्रा पाठक, शुभेच्छुक सबैमा उज्यालो दीपावलीको हार्दिक मंगलमय शुभकामना ।