गण्डकी प्रदेश सरकारले प्रदेशलाई आवश्यक जनशक्ति तयार गर्न तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने भएको छ । समाज, राजनीति र अर्थ बुझ्नका लागि बाँकी २० प्रतिशत र ८० प्रतिशत प्राविधिक शिक्षा पढाइ हुने विश्वविद्यालय प्रदेशलाई आवश्यक रहेको प्रारम्भिक अध्ययन समितिको निष्कर्ष थियो ।
बेलचौतारामा गण्डकी विश्वविद्यालय खोल्ने गण्डकी प्रदेश सरकारको शुक्रबारको बैठकले निर्णय गरेको छ । भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा प्रदेशलाई हस्तान्तरण गर्न पनि केन्द्र सरकारसँग माग गरिएको छ ।
विद्यालयका प्रदेश सरकारले कानुन मस्यौदासमेत तयार गर्दै छ । प्रदेश सरकारले विश्वविद्यालयको स्वरुप र सञ्चालन ढाँचाबारे अध्ययन गर्न कार्यदलसमेत गठन गरेको छ । डा. तीर्थबहादुर थापाको संयोजकत्वमा गठीत ५ सदस्यीय विश्वविद्यालय स्वरुप र सञ्चालन ढाँचा अध्ययन कार्यदलमा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदी, पूर्णकान्त अधिकारी, डा. कृष्णराज अधिकारी र डा. लेखनाथ भट्टराई सदस्य छन् ।
यो समितिले ४ महिनाभित्र प्रतिवेदन बुझाउनेछ । प्रादेशिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि यो आर्थिक वर्षमा सरकारले १ करोड विनियोजन गरेको छ ।