फेवातालको सिरान क्षेत्रमा रहेको सिमसार पुर्ने क्रममा कास्की प्रहरीले व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ। सिमसारमा माटो र गिटी हालेर पुरिरहेको सूचनापछि पुगेको प्रहरी टोलीले गाडी नियन्त्रणमा लिन खोज्दा खतिवडाले प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
घटनास्थलमा पुगेका पत्रकारहरूमाथि समेत खतिवडाले दुर्व्यवहार गरेको पत्रकार सुमन ढुङ्गानाले बताए। प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि खतिवडाले अर्को चाबी ल्याएर पुनः गाडी सञ्चालन गर्न प्रयास गरेका थिए।
पछि प्रहरीले खतिवडालाई पक्राउ गरी घटनामा प्रयोग गरिएका टिप्परहरू समेत नियन्त्रणमा लिएको छ। खतिवडाविरुद्ध अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता गरिएको र मंगलबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–५, खाल्टे स्थायी घर भएका ३७ वर्षीय खतिवडा पछिल्लो समय पोखरा–५ मा बसोबास गर्दै आएका छन्। यसअघि पनि फेवाताल वरपरका सिमसार क्षेत्र पुर्ने काममा संलग्न रहेका उनलाई पोखरा महानगरपालिका र प्रहरी प्रशासनले पटक–पटक रोक्ने प्रयास गर्दै आएका थिए।




