कविताः पुनरागमन

पखेटा उडाउनु परेको हो बाध्यताले
आफ्नै काखमा सजाउन नसकेका विचार बोकेर
थिए सुनौला सपनाका कल्कलाउँदा मुनाहरू
कलमको कुटोले कतै कोट्याउनै सकेन

सूचकको सिठ्ठी बजाएर
चिच्याइरहन्छ सडक बारबार
प्राचीन समय निदाइरहन्छ पारिलो घाम मानेर

फेरेर भूगोलको रेखा ,बोकेर मुटुभरि मर्म
तिर्खाएका चाहनालाई
हिँड्नु परेको हो कुवा खोज्दै
क्षितिजपारिको समृद्धितिर

थकान बिसाउन नपाउँदै
फिर्ता पठाइदियो डलरको चौतारीले

आमा !
मेरो पहरामा फुलेको इन्द्रेणी सपनालाई
फर्किँदै छु ,यतै बाटोमा तिलाञ्जली दिएर

बलौटे हावा चल्ला समाजमा
थोरै आँचल च्यातिएला प्रतिष्ठाको
मन सम्हाल्नु है आफ्नो !
फर्किएको छैन तस्बिरमा सजिने गरी

सिङ्गो माटोको अनुहार फेर्छु भन्ने बहनालाई पनि
थिच्नुपर्ने हो थोरै भए पनि नैतिकताको भारीले

नपलाइन्जेल पालुवा मेरो जिन्दगीमा
भइरहने छ हर्दम हार्दिकताको हनन
बस्नु छ चुपचाप ठगिनुको आत्मग्लानी सहेर

साहसको साङ्लोले मनलाई कसेर
ठक्करबाट ठडिएर ठड्याउनु छ आमाको शिर
आखिर
झरी,बादल ,चर्को घाम ,प्राण रक्षार्थको
बलियो घर – आमाको काख
आमा !
देखेको छु असिनाले ठटाएको खेती सप्रिएको पनि
नआत्तिनु मेरो पुनरागमनले
धर्तीमा पनि आखिर आउने र जाने
सजीवहरूको एउटा प्रक्रिया नै त हो ।