
केन्द्रमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको दुई महिनापछि गण्डकीमा एमाले सरकारमा गएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार एमालेबाट नवलपुरकी संसाद पद्मा जिसीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बनाएका छन् । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउँदा समानुपातिकबाट सांसद बनेका कास्कीका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् ।
एमालेले पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्री बनाएको छ । यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालय दिइएको छ भने मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय दिएका छन् ।
एमाले, कांग्रेस मिल्दा गण्डकीमा दुई तिहाइभन्दा बढीको समर्थन हुने भए पनि मुख्यमन्त्रीले स्वतन्त्र सांसद र नेपाल समाजवादीलाई कांग्रेसकै कोटाबाट मन्त्रीमा निरन्तरता दिएका छन् । जेठ १६ गते सर्वाेच्चको परमादेशबमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डे नेतृत्वको सरकारको पक्षमा अहिले ५३ सांसदको समर्थन छ ।
सरकार टिकाउन निर्णायक मत दिएको राप्रपाले समर्थन निरन्तर राख्ने वा फिर्ता लिनेबारे निर्णय लिइसकेको छैन । गण्डकी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) सात सदस्य(सभामुखसहित) मात्र सरकारबाहिर छ ।