पोखरा महानगरपालिका वडा नम्बर ७ र १५ को बिचमा पर्ने सेतीखोंचमा विमान दुर्घटना हुँदा ७२ जनाको एकै दिन निधन भएको एक वर्ष भएको छ । माघे सङ्क्रान्ति मनाउँदै गरेका पोखरेली यति एयरको दुर्घटनाले गत वर्ष विक्षिप्त बनेका थिए ।
दुर्घटनाको भयानक त्रासदीको वार्षिकीमा सोमबार पोखरेलीले विविध कार्यक्रम गरी त्यो दिन सम्झिए । पोखरा महानगरले दुर्घटनास्थलसँगै स्मृति स्तम्भ बनाएको छ । दुर्घटनामा निधन भएका सबैको नाम, ठेगानासमेत राखिएको स्तम्भ पोखरा महानगरका प्रमुख धनराज आचार्यले अनावरण गरे ।
प्रमुख आचार्यले दुर्घटनास्थलमा व्यवस्थित पार्क बनाउन यसपालि दश लाख बजेट विनियोजन गरेको जनाए । “सेतीका दुवैतिरका वडाध्यक्षज्यूहरुलाई यसलाई व्यवस्थित गर्ने जिम्मेवारी दिएका छौँ । यहाँ र व्यवस्थित पार्क बनाउने छौँ,” उनी भन्छन् । पार्कलाई दिवंगतका आफन्त, पोखरेली र पर्यटनकको समेत आगमन स्थल बनाउने योजना छ ।
यतिको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । दुर्घटना जाँच आयोगले करिब नौ महिनामा तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई हस्तान्तरण गरिसकेको छ ।
दुर्घटना स्थलमा अझै यति एअरको जहाजका भागहरु बाँकी छन् । दुर्घटना स्थलको खोचमा झाडी पलाइसकेको छ । विमानको भग्नावषेश रहेको ठाउँ नजिक नेकपा (माओवादी केन्द्र)ले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।
श्रद्धाञ्जलीसभामा उपस्थित दिवंगतका आफन्तहरु भावुक देखिन्थे । फेरि मानवीय त्रुटिका कारण दुर्घटना नहोस् भनी प्रभावकारी कदम चाल्न दिवंगतका आफन्त र शुभेच्छुकको माग छ ।