पाँचौ प्रयासमा माननीय बन्दै सहिद परिवार मनरुपा

समाज र व्यवस्थै बदल्ने सपना आँखामा साँचेर विद्रोहको बाटोमा लागेकी मनरुपा शर्मा (बिमला)को जीवन उतारचढावपूर्ण रह्यो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १० की मनरुपाले माओवादी जनयुद्धमा श्रीमान् गुमाइन् ।

व्यवस्था कति बद्लियो, कति सम्झौता भयो, त्यो आफ्नै ठाउँमा होला । संघीय लोकतान्त्रिक गणतन्त्रमा उनी अब राष्ट्रियसभा सदस्य बन्दै छिन् । ०६४ सालमा पहिलो संविधानसभा सदस्य उम्मेदवार बनेकी उनी पाँचौं पटकको प्रयासमा संसाद बन्दै छिन् ।

पहिलो चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित उनी अहिले कांग्रेससहितको मतबाट सांसद चुनिँदै छिन् । त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि उनलाई सांसद बन्ने अवसर मिलेको थिएन । पहिलो पटक उम्मेदवार बनेको १६ वर्षपछि उनी माननीय बन्दै छिन् ।

सोमबार गण्डकी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्न आउँदा भावुक थिइन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेको र गठबन्धनको जित सुनिश्चित रहेकाले धेरैले उनलाई अग्रीम बधाई दिइरहेका थिए । बधाई र शुभकामना दिनेहरुलाई धन्यवाद दिँदा उनका आँखाभरि आँसु देखिन्थे ।

मनोनयन दर्तापछि पत्रकारहरुसँग बोल्दै उनले पार्टीले निरन्तर आफूलाई अघि सारेको सुनाइन् । उनी भन्छिन्, “म जुन वर्ग, समुदायबाट आएकी छु, त्यही वर्गका सरोकारका मुद्दा उढाउनेछु । महिला, दलित, जनजाति, सहिद परिवारको पीडा उठाउँदै ती पीडा सम्बोधन गर्ने जति सक्छु प्रयास गर्ने छु ।”

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उनी निराश भने भइनन् । पार्टीले दिएको जिम्मेवारीमा सधैँ सक्रिय रहँदै आइन् ।

विसं २०६० देखि पार्टी र संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी हाल माओवादी केन्द्र पर्वत जिल्ला संयोजक छिन् । भन्छिन्, “पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ, म उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ’, उनले भनिन्, “निर्वाचित भएर राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु ।’

उनका पति विजय सुवेदी ‘विकास’को जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील थिए ।जनयुद्ध, शान्ति प्रक्रिया हुँदै अहिलेसम्म अविचलित योद्धालाई पार्टी सम्मान गरेको बताउँछन् माओवादी केन्द्र कुश्मा नगर अध्यक्ष शंकर गिरी । उनी भन्छन्ः महिला, सहिद परिवारको त्यागको सम्मान गर्दै पार्टीले उम्मेदवार बनाएको छ । प्राविधिक रुपमा पर्खिनुपर्ने मात्र हो, उहाँ माननीय बनिसक्नुभएको छ ।

४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आएकी हुन् । माघ ११ को निर्वाचनपछि गण्डकीमा चुनिने सबैभन्दा कान्छी राष्ट्रियसभा सदस्य उनी हुने छिन् ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले उनलाई महिला ‘कलस्टर’बाट उम्मेदवार बनाएको हो ।