गुटेरेसको भ्रमणः आज पाेखरा, भाेलि एबिसी, यस्तो छ २ दिने कार्यक्रम

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा आउँदै छन् नेपाली सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उनी सिधै फिस्टेल लजतर्फ जाने छन् ।

पोखराका लागि १ः२० मा काठमाडौँबाट प्रस्थान गरेका महासचिव गुटेरेस १ः५० मा पोखरामा अवतरण हुने छन् । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले विमानस्थलमा स्वागत गर्ने छन् ।

विमानस्थलबाट कारगेडमा उनी फेवाताल पारी रहेको फिस्टेल लज पुग्नेछन् । उनी सोमबार राति त्यही बस्ने तय छ । सोमबार २ बजेपछि महासचिव गुटेरेसका अरु कार्यक्रम छैनन् । यसअघि पनि पोखरा आएका अतिविशिष्ट पाहुनाहरु बसेको फिस्टेल लजबाट फेवाताल र हिमालको सुन्दर दृष्य देखिन्छ ।

महासचिव गुटेरेस मङ्गलबार बिहान अन्नपूर्ण आधार शिविर(एबिसी) जाने कार्यक्रम छ । बिहान साढे ६ बजे आधार शिविरका लागि प्रस्थान गरी उनी ६ः ५० मा त्यहाँ पुग्ने छन् । त्यहा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण सर्वसाधारणको जनजीवनमा परेका असरबारे सर्वसाधारणसँग समेत कुरा गर्ने जनाइएको छ ।

राष्ट्रसंघ महासचिवको भ्रमणको तयारीका लागि आइतबार नै अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी आधार शिविर पुगिसकेका छन् । अन्नपूर्ण आधार शिविर अन्नपूर्ण गाउँपालिका वडा नं. ११ मा पर्छ ।

त्यहाँको स्थानीय व्यवस्थापनको जिम्मा छोम्रोङ पर्यटन व्यवस्थापन समितिले लिएको छ । गाउँपालिकाले स्थानीय गुरुङ संस्कृति अनुसार महासचिव गुटरेसलाई स्वागत गर्ने तयारी गरेको छ ।

समितिका सचिव दिलीप गुरुङले महासचिव गुटेरेसको स्वागतको भव्य तयारी भएको उल्लेख गरे । “जलवायु परिवर्तन र त्यसबाट परेका असरबारे हामी उहाँसँग कुरा राख्ने तयारीमा छौँ । अतिविशिष्ट पाहुनाको भ्रमणले यहाँ उत्साह छ,” उनी भन्छन् ।

साढे ७ बजे आधार शिविरबाट गुटेरेस पोखरा विमानस्थल फर्किने छन् । विमानस्थलमा पोखराका पत्रकारहरुसँग कुरा गर्ने कार्यक्रम तय छ । सवा ८ बजे उनी पोखरा विमानस्थलबाट लुम्बिनी प्रस्थान गर्ने छन् ।

महासचिवको आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पारिएको छ । विमानस्थलदेखि फिस्टेल गेटसम्मको सडक सिंगारिएको छ । आइतबार सुरक्षा निकायले पोखरा विमानस्थलदेखि फिस्टेल लजसम्म सुरक्षाको पूर्वाभ्यास गरेका छन् । ंअन्नपूर्ण आधार शिविरमा शुक्रबार नेपाली सेनाको टोली पुगिसकेको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।