गएको साउन २८ गते आएको अप्रत्यासित बाढीले बगर बनाएको मुस्ताङको कागबेनी पुनर्निर्माणमा संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले सघाउने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका नेपाल स्थित आवासीय प्रतिनिधि आइसानी मेदागंगोडा लाबेबीच बिहीबार भएको भेटमा यसबारे छलफल भएको हो । नेपाल प्रमुख लाबेले कागबेनीको पुनर्निर्माण र पुनस्र्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
उनले गण्डकीमा चालु रहेका परियोजनाहरुबारे जानकारी दिँदै ती परियोजनामा युवालाई रोजगारीसँग जोड्ने खालका कार्यक्रम चलाइने प्रतिवद्धता जनाए । उनले भने, “फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तन जस्ता विषयमा काम गर्न चाहेका छौँ । कालिगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जनसम्ंबन्धी कार्यक्रम सुरुवात गर्ने, हिमतालसंम्बन्धी अध्ययन अनुसन्धानलाई पनि सघाउन चाहन्छौँ ।”
मुख्यमन्त्री पाण्डेले बाढीपछि अहिले पनि स्थानीयले सास्ती भोग्नुपरेको, व्यक्तिका घर र सामुदायिक भवनहरु ध्वस्त भएको जनाए । उनी भन्छन्, “प्रदेश सरकारको सीमित स्रोत र साधनले मात्र पुनर्निर्माणको सबै काम तत्काल पूरा गर्न सहज छैन । दातृ निकायहरु र नेपाल सरकारको सहयोग जरुरी छ ।”
गाउँहरुमा मानिसको बसोबास घट्दै गएको जनाउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्रको बसाइसराइ रोक्न उत्पादनमुखी कार्यक्रमा सहयोग गर्न आग्रह गरे । साना तथा मझौला उद्योग खोलेर रोजगारीका अवसर गाउँमै सिर्जना गर्दै युवालाई स्वरोजगार बनाउन सघाउन उनको अनुरोध छ ।
वारगुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले अहिले पनि उद्धार र पुनर्निर्माणका केही काम भइरहेको जानकारी दिए । पूर्वाधारको अस्थायी व्यवस्थापन भएको र श्राद्धस्थलमा श्राद्ध गर्न मिल्ने बनाइएको जनाए । “खानेपानीको अस्थायी व्यवस्थापन गरिएको छ, साँघु हालिएको छ । आजै हामी हेरेर आयौँ । श्राद्धस्थल सम्याएर श्राद्ध गर्न मिल्ने बनाइसकिएको छ,” उनी भन्छन् ।
कागखोलामा आएको बाढीले करोडौको भौतिक संरचनामा क्षति पुगेको थियो । बाढीले डेढ दर्जन घरमा क्षति गरेको थियो भने पक्की पुलसहित अस्थायी चार पुल बाढीले बगाएको थियो ।




