नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो ।
वर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा गएराति असामयिक निधन भएको थियो । त्यो दिन सरकारले नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा बिदा दिने र तत्तत् निकायका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिने भएको छ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए। ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ।
बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिव विष्टले बताए।
नेकपा एमालेले पनि उनको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेको छ।
नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो। हृदयघात भएपछि बिहान उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको थियो। अस्पतालले ३ बजे उनलाई मृत घोषणा गरेको थियो।




