गण्डकी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पोखरा महानगरको मेयरका उम्मेदवार बनेका एमाले नेता कृष्ण थापाले अहिलेको चुनाव आफ्ना लागि अन्तिम भएको उल्लेख गरेका छन् । अढाइ दशकपछि पोखरा महानगरको मेयरमा दोहोरिन उम्मेदवार बनेका थापाले आफूले निर्वाचित भए सेवा, सुविधा नलिने घोषणासमेत गरेका छन् ।
उनले भने, ‘जनप्रतिनिधिका हिसाबले पाउने सेवा, सुविधा गरिब विपन्नको सहयोगका लागि खर्च गर्ने छु । अबका कुनै पनि निर्वाचनमा म लड्दिनँ ।’ एमाले पोखरा महानगर कमिटी निर्वाचन परिचालन कमिटीले शनिबार गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । भेलामा एमाले कार्यकर्तालाई पोखरा महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा वडा सदस्यका उम्मेद्वारसँग परिचय गराइएको थियो ।
उनले एमालेल अनुभवी उम्मेद्वार उठाएका कारण चुनाव जितेको भोलिपल्टदेखि नै सेवा दिने उल्लेख गरे । कार्यक्रममा एमाले वरिष्ठ उपाध्यष एमालेले विजयले मात्र समृद्धि सम्भव हुने बताए । उनले भने, ‘आफ्नो पार्टीको घोषणापत्र जारी गर्न नसक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेस प्रवेश गरे हुन्छ ।’
उपमेयरकी उम्मेद्वार मञ्जुदेवी गुरुङले गएको कार्यकालको सुरुका कानुन बनाएर काम थाल्नुपर्दा कठिन भए पनि अबको कार्यकाल त्यस्तो नहुने बताइन् । मञ्जु उपमेयरबाट राजीनामा दिएर फेरि सोही पदमा दोहोरिएकी हुन् ।




