गुरुङ जातिको इतिहासबारे गलत तथ्य लेखेको भन्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’लाई माफी माग्न र राजीनामा दिन अल्टिमेटम दिइएको छ ।
बिखर्चीले गुरुङमा उच्च र निच जात रहेको पुस्तकमा लेखेको सार्वजनिक भएपछि उनको चर्को विरोध भएको छ । २४ घण्टाभित्र गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिले भौतिक रुपमा उपस्थित भई तमू संघसंस्थाका अगुवाबिच लिखित माफी माग्नुपर्ने र ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने उनीहरुले निर्णय गरेका छन् ।
तोकिएको समयसिमाभित्र माफी मागी राजीनामा नदिएमा संघर्ष समितिको नेतृत्वमा गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिको कार्यलय घेराउ र तालाबन्दी गर्ने गुरुङ संघ, संस्थाले निर्णय गरेका छन् ।
सामाजिक सञ्जालमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चिजकाजी गुरुङले सबै मानव भएकाले विभेद कसरी आयो भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘हामी सबै उस्तै, रगत रातै र प्रजाती पनि एकै । फरक छ भने केवल हामीले अवलम्बन गर्ने पेशा । फेरि कहाँ रहन्छ र विभेदकारी ठूलो र सानो जातजातिको कुरा ?’
यस्तै, गुरुङ साहित्यिक मञ्च नेपालले लेखकलाई कडा कारवाहीको माग गर्दै पुस्तक बिक्री रोक्न भनेको छ । मञ्चका अध्यक्ष गौरी तमु र महासचिव रोशनी गुरुङले तत्काल पुस्तक बिक्री वितरणमा रोक लगाउन र वितरण गरिएका तथा नगरिएका पुस्तक नष्ट गर्न गराउन माग गरेका छन् ।
गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपति बिखर्चीले २०७८ कात्तिकमा प्रकाशन गरेको लमजुङ र पृथ्वीसुब्बा नामक पुस्तकमा गुरुङ जातिहरुमध्ये उच्च स्तरको चार जात र निम्न स्तरको सोह्र जात भनेर चिनिन्छ । यिनी चार जाते हुन् भनी लेखिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो वाक्यको प्रयोग गरी गुरुङ समुदायको आत्मसम्मानमा ठेस पु¥याउने र विखण्डन ल्याउने कार्य गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक पद धारण गरेको प्राज्ञिक व्यक्तिबाट यसप्रकारको सतही, तथ्यहीन पुस्तक लेख्नु खेदजनक छ ।’
यसैबीच, कुलपति बिखर्चीले बुधबार विज्ञप्ति निकालेर यी वाक्य परिमार्जन गरी १ महिनाअघि नै अर्को संस्करण प्रकाशन भएको जनाएका छन् । उनले भनेका छन्, ‘यस शब्दले कसैको भावनाप्रति चोट पर्न गएको भए म माफी चाहन्छु ।’
पोखरामा रहेका आधा दर्जन बढी गुरुङ संघसंस्थाको बैठकले निम्नानुसारको सामूहिक प्रतिबद्धता पारित गरेको छ:
१.२४ घण्टाभित्र गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिले भौतिक रुपमा उपस्थित भई तमू संघसंस्थाका अगुवाबिच लिखित माफी माग्नुपर्ने ।
२. ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने र
३. तोकिएको समयसिमाभित्र माफी मागी राजीनामा नदिएमा संघर्ष समितिको नेतृत्वमा गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिको कार्यलय घेराउ र तालाबन्दी गर्ने ।
- हुम गुरुङ, अध्यक्ष : तमू धीं नेपाल
- हितकाजी गुरुङ, अध्यक्ष : तमू प्ये ल्हु संघ केन्द्रीय कार्यसमिति
- विष्णुमाया गुरुङ, केन्द्रीय सदस्य : तमू ह्यला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्
*दिलमाया गुरुङ,उपाध्यक्ष : तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गण्डकी प्रदेश - गुञ्जबहादुर गुरुङ, अध्यक्ष : गुरुङ फिल्म एसोसिएसन
- सु.इन्द्रबहादुर गुरुङ,सह कोषाध्यक्ष: तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् कास्की
- गौरी तमू, अध्यक्ष : गुरुङ साहित्यिक मञ्च नेपाल ।
२०७८/चैत /१६ गते ।




