आफूले घुस खाएको भन्दै सजाय गर्न पूर्वमन्त्रीको माग

आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पूर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उद्योगपतिसमेत रहेका पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तामेलीमा रहेको आफ्नो मुद्दा पुनर्जीवित गरेर कारबाही गरेमा आफू जेल जानसमेत तयार रहेको स्पष्ट पारेका हुन् ।

पूर्वमन्त्री पाण्डेले बारम्बार आफु दोषी हुँ र मलाई दण्डित गरियोस् भन्दा पनि आफुलाई सरकारले कुनै कारबाही नगरेको टिप्पणी गरे ।

उनले १९ वर्षअघि पनि रिपोर्टर्स क्लब नेपालमा आएर आफूलाई दण्डित गर्न माग गर्दै कालोपट्टी बाँधेको स्मरण गराए ।

पहिलोपटक भारतले २०४५ सालको अन्तमा लगाएको आर्थिक नाकाबन्दी पछि आफूले विश्व बैंकमा अरुण तेस्रोको बारेमा वार्ता गरेको उनले सुनाए । आफूले पछिल्लो समयमा सकेसम्म राष्ट्रिय उत्पादन र सस्तो सामग्री प्रयोग गर्दै आएको पनि बताए ।

उनले भने, ‘मैले सम्पत्ति आर्जन गर्न अरुलाई घुस दिएको हो, जे आर्जन गरें त्यसको केही मातृभूमिलाई दिनुपर्ने थियो त्यो दिएको छैन्, त्यति हुँदापनि म प्रतिष्ठित भएर यो समाजमा हिँडिरहेको छु । मलाई राज्यले दण्ड दिनुपर्छ । म जेल जान पनि तयार छु ।’

उनले १९ वर्षअघिको घटना स्मरण गराउँदै आफुले काँस्की प्रहरीमा दण्ड गर्न आग्रहसहितको निवेदन दिएको सुनाउँदै भने, ‘कास्की प्रहरीले केही नगरेपछि म अख्तियारमा गएँ र दण्डित गर्न आग्रह गरेको थिए । त्यत्तिबेला अख्तियारले मेरो मुद्दा तामेलीमा राख्यो । तर कुनै फैसला गरेन्, अख्तियारले तामेलीमा राखेको मुद्दा फेरी पुर्नजीवित गराउन यही क्लबमार्फत आग्रह गर्दछु ।’

नेपाली नागरिकको हैसियतले मातृभमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे ।

‘त्यो रकम आज पनि सुरक्षित छ आजपनि सरकारले मागेमा म दिन तयार छु,’ उनले भने ।

पाण्डेले २०५९ सालमा अख्तियारको तामेलीमा भएको केस उल्टाएर आफुलाई कारवाही गर्न सरकार र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरे । उनले आफूलाई धेरैले बौलाएको आरोप लगाएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे ।

अख्तियारले पुरानो फाइल उल्टाइदिएमा आफु निकै खुशी हुनेपनि सुनाउँदै उनले भने, ‘मलाई अख्तियारले कारवाही गरोस्, जेल हालोस । अख्तियारले मलाई कारवाही हुँदा खुशी हुने थिएँ ।’

यदि सरकारले आफुलाई दण्ड इच्छानुसार परिवारबाट अलग रहने, स्वास्थ्योपचारबाहेक अन्य समयमा विदेश नजाने र सबै भक्तजनहरु जान नमिल्ने मन्दिरमा प्रवेश नगर्ने पनि उनले स्पष्ट पारेका छन् ।

पाण्डेले ३ करोड रुपैयाँबाट ६ सय विद्यार्थीहरुलाई आफूले छात्रवृत्ति दिइरहेको पनि जानकारी दिए । स्वास्थ्यले साथ दिएमा परिवारदेखि आफू करिब १ वर्ष टाढा बस्ने पनि उनले स्पष्ट पारे । परिवारबाट टाढा भएर भिक्षाटनमा बस्न खोजेको तर पलायन हुन नचाहेको उनको स्पोष्टोक्ति थियो ।

उनले आफ्ना ५ जना छोरीहरु मेडिकल डाक्टर र एक छोरा इन्जिनियर भएकोसमेत जानकारी दिए । आफू मन्त्री भइसकेको व्यक्ति भएकोले सामाजिक र आर्थिक हिसाबले पनि आफू गरिब नभएको उनको दाबी छ ।

‘मैले अहिले पनि ७र८ वटा कम्पनी चलाएको छु, म धनी मान्छे हुँ,’ उनले भने ।

तर गरिबमाराको रुपमा आफ्नो पहिचान स्थापित भएको भन्दै त्यो पहिचानलाई भने मेटाउन चाहेको पूर्वमन्त्री पाण्डेले बताए ।
उनले आफू अब राजनीतिभित्र प्रवेश नगरेर पनि नेपालको विकासको निम्ति लागिपर्ने बताए । पाण्डेले आफूले नेपाल इन्जिनियरिङ कलेजको एक पैसा पनि नखाएको समेत स्पष्ट पारे ।