
नेपालीले सामना गरेको महाविपत्ति गोरखा भूकम्पका असर अझै बाँकी छन् । यो महाभूकम्पछि लामो समयसम्म सयौं साना, ठूला परकम्पहरु आइरहे । ती परकम्पले हामीलाई महाभूकम्पझैं त्रसित बनाइरह्यो । भौगर्भिक विपत्ति एकै पटक नसकिने र विस्तारै कम हुने रहेछ । कोरोना नामको भाइरसबाट सर्ने कोभिड १९ को विपत्ति पनि हाम्रा लागि परकम्प जसरी आइरहेको छ । गत वर्ष चैत ११ बाट लकडाउन व्यहोराका हामी विपत्तिको वार्षिकीमा फेरि अर्काे विपद् आउने हो कि भनेर त्रसित छौं । भूकम्पको परकम्पझैं कोरोना भाइरसको नयाँ लहर विश्वमा सुरु भएको छ । युरोपदेखि छिमेकी भारतमा समेत यसले नराम्रो धक्का दिइसकेको छ ।
कोभिडको नयाँ लहर नेपालमा पनि देखिएको बताइन्छ । सरकारले फेरि संक्रमण फैलिनसक्ने र लकडाउन पनि हुन सक्ने जनाइसकेको छ । केही जिल्ला प्रशासन कार्यालयले सुरक्षा मापदण्ड अपनाउन, मेला, महोत्सव, भीडभाड नगर्न सजग गराउँदै सूचना निकालिसकेका छन् । पहिला बनाइएका क्वारेन्टिन र आइसोलेसनको तथ्यांक संकलनसमेत थालिएको छ । आउन लागेको हालीमा भीडभाड नगर्न र घरमै मनाउन सरकारले अनुरोध गरिसकेको छ ।
भूकम्पको परकम्पझैं कोरोना भाइरसको नयाँ लहर विश्वमा सुरु भएको छ । युरोपदेखि छिमेकी भारतमा समेत यसले नराम्रो धक्का दिइसकेको छ ।
लामो समयको लकडाउन र कोरोना कहरबाट नेपाली विस्तारै लयमा फर्कन लागेका बेला आउन लागेको यो तरंगले धेरैलाई चिन्तित बनाएको छ । देशदेखि विदेशसम्म यसले फेरि नेपालीलाई नराम्ररी पिरोल्न सक्छ । फेरि लकडाउन भए त्यसको मुकाबिला गर्न निकै कठिन हुने देखिन्छ । यसअघि ठप्प भएको जनजीवन, अर्थव्यवस्था, विकास, निर्माणदेखि सबै क्षेत्र पुरानो अवस्थामा फर्कन सकेको छैनन् । फेरि लकडाउन भए मान्छे भोकै पर्ने र जनजीवनका सबै पाटा नराम्ररी प्रभावित हुने देखिन्छ ।
देशमा फेरि कोभिडलाई महामारीको रुपमा बढ्न नदिन हामीले सुरक्षा सजगता अपनाउनु जरुरी छ । सजगता अपनाउँदै दैनिक जीवन चलाउनु नै सबैभन्दा महत्वपूर्ण उपाय हो यसको मुकाबिला गर्ने । कोभिडको संक्रमण कम भएपछि हामीले सुरक्षा सजगता अपनाउन छाडेका छौं । खोप लगाउने क्रम सुरु भए पनि सबै नेपालीसम्म पुग्न लामो समय लाग्छ । यसको प्रभावकारिताबारे पनि केही आशंका बाँकी नै छन् ।
पोखराको इन्जिनियरिङ अध्ययन संस्थापन पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी र प्राध्यापकमा भएको संक्रमण नयाँ खालको भएको अनुमान गरिएको छ । कोरोनाको उपचारमा यसअघि पनि निकै कठिनाइ हामीले व्यहोरेका हौं । एकातिर उपचारको राम्रो प्रबन्ध गर्न कठिन छ भने लकडाउन भए जनजीवन लामो समय लयमा आउन नसक्ने गरी प्रभावित हुन्छ । सबै सजग बनौं, त्यो अवस्था आउन नदिऔं । सुरक्षा सावधानी अपनाऔं ।