पोखरा रंगशालाभित्र क्रिकेटको अवस्था दयनीय

एक दशकमा रंगशालाभित्र थुप्र्रै पूर्वाधार थपिए । एक पछि अर्को खेल पूर्वाधार थपिदैं गए । केही पूर्वाधार दक्षिण एशियाली खेलकुदको १३ औं सस्करणको सन्दर्भमा बने । केही स्तरोन्नति गरियो ।

एक दशकमा पोखरा रंगशालाभित्र आर्चरीको मैदान बन्यो । टेनिसको हार्ड कोर्ट र क्ले कोर्ट, चेन्जिङरुमसहितको भवन तयार भयो । नेपालकै बढी दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल बनाईयो । भलिबलको लागि चार वटा कोर्ट तथा चेन्जिङ रुम बन्यो । ७५ मिटर लामो प्यारापिट बनाईयो । जसलाई एकेडेमीको रुपमा स्थापित गरिएको छ । ह्याण्डबल एकेडेमीको लागि पनि कोर्ट बनाईसकिएको छ ।

दक्षिण एशियाली खेलकुदकै पूर्व सन्ध्यामा व्याडमिन्टन कभर्ड हल तयार भएको छ । चार वटा कोर्ट छन् । बास्केटबल कोर्ट स्तरोन्नति गरिएको छ । स्क्वास खेलको भौतिक संरचना बनेको छ । अहिले नेपालकै ठूलो दर्शक क्षमताको फुटबल मैदान निर्माणकै चरणमा छ । १ अर्ब २८ करोडको लागतमा २० हजार दर्शक क्षमताको प्यारापिटसहितको फुटबल मैदान तयार केही महिनापछि हुनेछ ।

एक दशकमा यतिधेरै खेलको पूर्वाधार तयार भए पनि क्रिकेटले भने गति लिन सकेन । क्रिकेटको आवश्यक पूर्वाधार भने तयार छैन् । केवल क्रिकेट मैदान बनेको छ । अन्य पूर्वाधार भने छम्कट्टै छैन् । एक दशकको अवधिमा क्रिकेटको लागि आवश्यक पभेलियन बनाउनेतर्फ सरकार, स्थानीय तहले खासै प्रभावकारी भूमिका भने खेल्न सकेनन् । न त संघले नै त्यस तर्फ गम्भीर ध्यान दिन चासो नै दियो ।

त्यसो त नेपाली क्रिकेटको माउ संस्था नेपाल क्रिकेट संघ(क्यान) चार वर्ष प्रतिबन्धमा पर्यो । त्यसको प्रत्यक्ष असर क्रिकेटको पूर्वाधार विकासमा देखियो । ‘क्रिकेट चलायमान हुने अवस्थामा प्रतिबन्धमा पर्यो । बढी असर पूर्वाधार विकासमा देखियो ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउँछन् ।

संकटकालिन अवस्थामा पोखरा रंगशालाभित्र क्रिकेट मैदानको जग बस्यो । जमिन सम्मियो । पिच तयार गरियो । खाल्डा खुल्डी पुर्दै आउट फिल्ड तयार भयो । त्यही अवस्था अहिलेसम्मै छ । २०६७ सालमा आईपुगेर क्रिकेट मैदान खेल्नको लागि तयार भयो । २०६८ सालमा महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता गरियो । त्यसपछि पुरुष राष्ट्रिय टोलीको एक हप्ते क्लोज क्याम्प बस्यो । क्लोज क्याम्पपछि केही राष्ट्रिय प्रतियोगिता आयोजना गरियो । यद्यपी मैदानबाहेक अन्य ठोस उपलब्धी भने देखिएन् ।

गत वर्ष क्रिकेटको फ्रेन्चाईज लिग पोखरा प्रिमियर लिग(पिपिएल) आयोजना भयो । पिपिएलले मैदानलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेल्यो । त्यसभन्दा अघि नै पोखराको क्रिकेट मैदान भने अन्तराष्ट्रियकरण भईसकेको थियो । कारण, फोटो पत्रकार सुदर्शन रन्जितले खिचेको ढुंगे मैदानमा क्रिकेट खेल्दै पृष्ठभूमिका माछापुच्छ«े हिमाल देखिएको फोटोले एसिसी अवार्ड जितेको थियो ।

‘सरकारको लगानी कम छ । एक पटक १४ लाख रुपैयाँ आउँदा बाउण्ड्री बढाईयो । अर्को १० लाख रुपैयाँ आउँदा पानीको पाईप विस्तार गरियो ।’ अध्यक्ष सिग्देल भन्छन–‘आन्तरिक स्रोत छैन् । सरकार गुहार्नबाहेक विकल्प छैन् । सरकारी लगानी कम हुदाँ पूर्वाधार बन्ने अवस्था देखिदैन् ।’ पोखराको क्रिकेट मैदानलाई अन्तराष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्ने भाषणमा मात्रै सीमित छ । खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम छैन् । खेलाडीलाई प्राक्टिस गर्ने नेट्स तयार छ ।

‘क्रिकेटको विकासमा सरकारले लगानी गर्नुपर्छ । तर क्रिकेट संघले पनि विशेष चासो देखाउन जरुरी छ’– क्रिकेट प्रशिक्षक जगत टमटा सुनाउँछन–‘संघकै चासो कम हुदाँ लगानी आउन सक्ने बातावरण हुदैन् ।’ पछिल्लो समय संघीयतासँगै प्रदेश सरकारले प्रदेशमा एउटा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन चासो दिएको छ । उनको भनाई अनुसार मैदानको अवस्था पुरानै छ । आउट फिल्ड केही सुधार भए पनि अरु नयाँपनमा प्राक्टिसको लागि नेट्स थपिएको स्वीकार्छन् ।

पूर्वाधारविहीन मैदानमै १३ औं दक्षिण एशियाली खेलकुद(साग) महिला क्रिकेट सकिएको छ । क्रिकेट विकासक लागि संघीय सरकारले रातो किताबै ३ करोड विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ छुट्टाएको छ । छुट्टाईएको बजेटबाट खेल मैदान संरक्षणको लागि तारजालीले घेर्ने योजना छ । ड्रेन बनाईनेछ । त्यसपछि खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुमसहित शौचालय बनाउने सोच कास्की जिल्ला क्रिकेट संघले बनाएको छ ।

kheladinews.com