ताजा समाचार

असाेज २ गते २०७६

असोज ३ लाई कालो दिवस भन्नु जनताको अपमान

आज असोज ३ गते, ऐतिहासिक दिन । जुन दिन नेपालको संविधान जारी भएको थियो । जनताका छोराछोरी राष्ट्र प्रमुख हुन पाउने प्रावधानसहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अवलम्बन गरेको संविधान जारी भएको आज पाचौं वसन्त प्रवेश भएको छ । नेपाली जनताको ६० वर्षको सपना साकार पार्दै यसै संविधानसभाले संविधान बनाएको थियो । यो नेपाल र नेपालीका लागि निकै खुशी र हर्षको दिन हो । भलै केही राजनीतिक दलले यसलाई कालो दिनको रुपमा पनि लिने गरेका छन् । अब विकास र समृद्धिमा जुट्नु आवश्यक छ ।

मुलुकका सबै लोकतान्त्रिक दल एकतावद्ध भएर अघि बढ्नुपर्छ र सबैलाई संगै हिडाउने दायित्व सरकारको हो । यद्यपि वर्तमान सरकार यसमा चुकेको महसुस हुन्छ । त्यसैले संविधान दिवसकै दिनबाट २ तिहाइको दम्भ छोडेर सरकार सच्चिनु आवश्यक छ । नेपालको संविधान अनुसार संघीयता कार्यान्वयन जटिल भए पनि यसलाई अघि बढाउनुको विकल्प छैन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भाग्य र भविष्य भएको हुँदा यसको सफल कार्यान्वयनमा नै संविधान सफल हुनेछ । संघीयता कार्यान्वयनका चुनौतीलाई सन्तुलित र परिपक्वरूपमा सामना गर्दै जानु जरुरी छ ।

२००७ सालमा नै विधानसभाको परिकल्पना गरिएको भए पनि त्यसको कार्यान्वयन ६ दशकपछि २०६४ सालमा भयो । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति छिमेकी मित्र राष्ट्र भारतसहित सबै राष्ट्रको समर्थन रह्यो । १२ बुँदे समझदारीदेखि संविधान घोषणाको एक दशक २०६२ देखि २०७२ सम्म मुलुक संक्रमण कालमा गुज्रिएको थियो । संविधान घोषणा, तीनै तहको निर्वाचनसँगै नेपालमा नियन्त्रित अस्थिरताको युग करिब सकिएको छ । आगामी चुनाव कम्युनिस्टका लागि फलामको चिउरा हुन सक्ने स्थिति पनि देखिँदै छ । यसको सानो परीक्षण आगामी मंसिर १४ गते हुने उपनिर्वाचन हो ।

संविधान गतिशील दस्ताबेज हो । यो समयानुकूल संशोधन र परिमार्जन हुन सक्छ । हाम्रो संविधानले संशोधनको प्रावधानलाई आत्मसात् गरेको छ ।

चाहेर पनि, नचाहेर पनि नेपाली कांग्रेसलाई पछाडि राखेर देश अघि बढ्न सम्भव छैन । देशमा धेरै आन्दोलन र परिवर्तनको नेतृत्व गरेको कांग्रेस नेपालमा गणतन्त्र ल्याउन र संविधान निर्माण गर्न अहम् भूमिका खेल्ने प्रमुख पार्टी हो । परिवर्तनलाई पूर्णरूपमा आत्मसात् गर्न नसकेको र परम्पराप्रति स्पष्ट हुन नसक्नुका कारण राप्रपाको भविष्य संकटमा पर्ने देखिँदै छ । नेतृत्वप्रतिको लालचा, निरन्तर पार्टी विभाजन र सत्ता स्वार्थका कारण राप्रपा कमजोर हुन पुगेको हो । मधेसवादी दलको हात पनि करिब राप्रपा जस्तै हो । नेकपामा भएको सहमति बमोजिम प्रधानमन्त्री पद हस्तान्तरणले यो पार्टीको एकता खल्बलिन सक्ने सम्भावना पनि छ ।

तीनै तहको निर्वाचनका कारण नेपालको संविधान २०७२ कार्यान्वयन र जनताबाट समेत अनुमोदन प्राप्त गरिसकेको हुँदा अब पनि संविधानलाई कालो संविधान भन्नु जनताकै अपमान गर्नु हो । राजपाले यसलाई कालो दिनका रुपमा लिएको छ । प्रदेश २ का मन्त्रीहरुसमेत विरोधमा सहभागी हुँदै छन् । संविधान गतिशील दस्ताबेज हो । यो समयानुकूल संशोधन र परिमार्जन हुन सक्छ । हाम्रो संविधानले संशोधनको प्रावधानलाई आत्मसात् गरेको छ ।

२ सय ४० वर्षदेखि निरंकुशताको जन्जिरमा पिल्सिएका नेपाली जनताको लागि यो महान् अवसर एवं गौरवको विषय हो । नेपाल सरकारले घोषणा गरे बमोजिम असोज २, ३ र ४ तीनै दिन आम नेपालीले दीपावली गरेर भव्यरूपमा संविधान दिवस मनाउदैछन् । एक सचेत र सार्वभौमसत्ता नेपाली नागरिक भएकाले यो अवसरमा सरिक हुनु सबैको दायित्व हो ।