सन्तोषको छलाङ : एकै दिनमा राजीनामा र एकता

शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा दिएका सन्तोष परियारले आजै नयाँ राजनीतिक यात्रा तीव्र बनाएका छन् ।

राजीनामा दिँदै नयाँ राजनीतिक अभियान अघि बढाउने बताएका परियारले तीन समूहबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै दल दर्ताका लागि आवेदनसमेत पेश गरेका छन्।

सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन् । तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो।

सहमति पत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराँती र परियारले हस्ताक्षर गरेका छन्।

सहमतिमा हस्ताक्षर हुँदै गर्दा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनार्दन शर्मा पनि सहभागी थिए । सहमति गरेर उनीहरू दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

देश र विदेशमा बसोबास गर्ने प्रगतिशील लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू, विशेष गरी जेनजि पुस्तालाई व्यापक राजनीतिक पुनर्संरचनामा सक्रिय रूपमा सहभागी हुन उनीहरूले आह्वान गरेका छन् ।

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनमार्फत पराजित गर्न नयाँ र वैकल्पिक शक्तिहरू तथा युवा वर्गसँग हातेमालो गर्न आग्रह गरिएको छ।

देशको गम्भीर आर्थिक र राजनीतिक संकट, भ्रष्टाचार, नातावाद, बेरोजगारी, र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणको पृष्ठभूमिमा उभिएको जेनजि आन्दोलनले ऐतिहासिक चुनौती स्वीकार गर्दै राष्ट्रिय राजनीति सुधार्ने र समग्र राजनीतिक पुनर्संरचनाको मार्ग प्रशस्त गर्ने लक्ष्यसहित सहमति जनाएको जनाइएको छ।

प्रगतिशील लोकतान्त्रिक पार्टी नाममा सहमति गरेर उनीहरू निर्वाचन आयोग पुगेका हुन् । उनीहरूबीच आजमात्रै एकताको सहमति भएको थियो ।

स्रोतका अनुसार, बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीलाई अद्यावधिक गर्ने गरी सहमति भएको छ । सहमतिपछि टोली दर्ताका लागि आयोगमा निवेदन पुगेको हो ।

उनीहरूबीचको सहमतिमा ‘एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै बनाउने उल्लेख छ । त्यस्तै मंसिर ७ गते बृहत् एकता घोषणा कार्यक्रम गर्न पनि उनीहरू सहमत भएका हुन् ।