कविता: एक भोटको सट्टा

व्यक्तिगत स्वार्थभन्दा माथि,
पार्टीगत झण्डाभन्दा माथि,
चन्द्र र सूर्य फर्फराइरहेको
एउटा विशाल र नझुक्ने
रातो झण्डा —
त्यसैको छातामुनि,
त्यसैको छायामुनि,
त्यसैको मायामुनि
आज आशावादी छन् एक भोटका मालिकहरू…
त्यही छाताको छहारीमा
प्रतीक्षारत छन्
देशप्रेमी, न्यायप्रेमी,
अग्रगामी, आशावादी
र मतदानी जनताहरू —
लोकतन्त्रको जितका लागि,
व्यवस्थित राज्य प्रणालीका लागि।
धेरै भयो,
उनीहरूले सपना देखेका —
एउटा साझा देश,
समान समृद्धिको दौड,
समावेशी हासो,
आफ्नै सानो घर,
देशमै रोजगार।
अन्त्य होस् कुनै पनि युद्ध,
बनोस् देश समृद्ध।

एउटा भोटको सट्टामा
उनीहरूको कुनै ठूलो माग छैन।