
निवृत्त प्राध्यापक समाज पोखराको अध्यक्षमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । पृथ्वीनारायण क्याम्पसका पूर्वप्राध्यापक पौडेल अहिले गौरीशंकर बहुमुखी क्याम्पस हेमजका क्याम्पस प्रमुख छन् ।
समाजको प्रथम अधिवेशनबाट उपाध्यक्षमा प्राध्यापक पद्मशरण रेग्मी, सचिव प्राडा ज्ञानबहादुर कार्की, सहसचिव निरुपा र कोषाध्यक्षमा चन्द्रकान्त रेग्मी छन् । सदस्यहरुमा प्राडा कृष्णप्रसाद पौडेल, विष्णुराज पराजुली, हरिप्रसाद त्रिपाठी, प्राध्यापक दीपकचन्द्र वाग्ले, अञ्जना श्रेष्ठ र लोकनाथ पुडासैनी छन् ।
अमृतलाल श्रेष्ठको संयोजकत्वमा खुमलाल पौडेल र उपेन्द्र पौडेल सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसीले शिक्षा क्षेत्रको विकास र उन्नयनका लागि प्राध्यापक र विश्वविद्यालयको सहकार्य जरुरी हुनेमा जोड दिए । उनले पोखरा विश्वविद्यालयले नयाँ नयाँ कार्यक्रमहरु थपिरहेको र राजधानीमा समेत क्याम्पस सञ्चालन गरेको जनाए ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोन, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला, पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार गोविन्दप्रसाद शर्मा, प्राडा कुशुमाकर न्यौपाने, संस्थाका सल्लाहकार सल्लाहकार बालगोपाल अमात्य, रघुनाथ अधिकारी, प्राडा ज्ञानबहादुर कार्की, प्रा पद्यशरण रेग्मी लगायतले बोलेका थिए ।
समारोहमा संस्थालाई सहयोग गर्ने र आवधिक प्रकाशन ‘निवृत्त प्राध्यापक मञ्च’को सम्पादनलाई सघाउनेहरुलाई सम्मान गरियो छ । यसरी सम्मानित हुनेमा जर्ज जोन, बालगोपाल अमात्य प्राडा ज्ञानबहादुर कार्की, प्राडा कृष्णप्रसाद पौडेल, डा वासुदेव भण्डारी र खुमलाल पौडेल छन् । जोनले संस्थालाई १ लाख सहयोग गरेका छन् भने अमात्यले ५६ हजार यसअघि प्रदान गरेकोमा शनिबार थप ५० हजार सहयोग गर्ने घोषणा गरे ।

संस्थाका अध्यक्ष पौडेलले निवृत्त प्राध्यापकहरुको सरोकार, समस्या र उनीहरुबाट समाजले सिक्न सक्ने पक्षहरु उजागर गर्दै संस्था अघि बढ्ने जनाए ।