
जेनजी आन्दोलनपछिको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कास्की प्रशासनले देउसीभैलोसहितका सांस्कृतिक कार्यक्रममा कडाइ गर्ने भएको छ।
बुधबार सार्वजनिक सूचना मार्फत जिल्ला प्रशासन कार्यालयले सभा, समारोह, मेला, जात्रा, कन्सर्टलगायतका कार्यक्रम अघि सम्बन्धित पालिकाको अनुमति अनिवार्य गरेको हो।
पालिकाको स्वीकृतिपछि आयोजकले कार्यक्रमको मिति, समय, स्थान, सहभागी संख्या र सम्पर्क विवरण उल्लेख गरी प्रशासनमा निवेदन दिनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो। अनुमति बिना कार्यक्रम हुँदा सुरक्षामा चुनौती र विवाद उत्पन्न हुने भएकाले यस्तो व्यवस्था गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहको स्वीकृतिबिना यस्ता कार्यक्रम गर्न नपाइने कानूनी प्रावधान पनि सूचनामा स्मरण गराइएको छ। तिहारमा कास्कीका विभिन्न टोल तथा संस्थाले देउसीभैलो, सांस्कृतिक कार्यक्रम र कन्सर्ट आयोजना गर्दै आएका छन्।