जहाँ बस्दैछ गण्डकी प्रदेशसभाको बैठक

गण्डकी प्रदेशसभा र प्रदेशसभाको सचिवालय आन्दोलनका क्रममा भदौ २४ गतेको आगजनीबाट नष्ट भएका छन् ।

जेनजी आन्दोलनका कारण अनिश्चित कालका लागि स्थगित भएको गण्डकी प्रदेशसभाको बैठक असोज २२ गतेलाई आह्वान भएको छ । सभामुख कृष्णप्रसाद धितालले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पोखरा–५, मालेपाटनमा रहेको हलमा २२ गते १ बजे बैठक आह्वान गरेका छन् ।

गण्डकी प्रदेश सरकारका अन्य कार्यालयले सरसफाइ र मर्मत गरी काम आरम्भ गरे पनि प्रदेशसभाका कुनै भवन पनि काम लाग्ने अवस्थामा छैनन् । प्रदेशसभाका सचिव गोविन्द पौडेलले संसद बैठक आह्वान भएको र बैठकस्थलको तयारी पनि करिब सकिएको जानकारी दिए ।

भदौ २५ गतेका लागि तोकिएको बैठक जेनजी आन्दोलनपछि रोकिएको थियो । गण्डकी प्रदेशसभामा अहिले खानी तथा खनिजसम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐनको संशोधन विधेयक छन् । सरकारले औषधीय उपयोगका लागि गाँजा खेतीसम्बन्धी विधेयक पनि सदनमा लैजाने तयारी गरेको छ ।