दशैं, मासु, मदिरा र देश

राष्ट्रप्रेम, एउटा अनौठो अन्तर्य भावना हो | बेला बेलामा यसले मुर्त रुप खोजिरहन्छ, कुनै बेला बिस्फोट पनि भइदिन्छ |

भदौ २३, एउटा सामान्य दिनको रुपमा सुरु भएको थियो | सामाजिक संजाल बन्द संगै नेपो बेबी बहिस्कार अभियानले जेन जी मा राष्ट्रप्रेमको उर्जा भरिरहेको अवस्था थियो | सरकार आफ्नो दैनिक रवाफको मदहोसीमा थियो | शान्तिपूर्ण र्याली गर्ने स्वीकृति पाएको जेन जी अभियानले राज्यमा आफ्नो उपस्थिति देखाउने मंच खोजिरहेको थियो | राज्य भित्र र बाहिर रहेका विभिन्न तत्वहरुले आ-आफ्नो पासा बुनिरहेका थिए | सबैको आ-आफ्नै दाउ थियो, राष्ट्रको बिषयमा सबै मौन थिए |

जब कुनै घटना घट्छ, अनेक दृष्टिकोणहरुको जन्म हुन्छ | अनेक षड्यन्त्रका सिद्धान्तहरूको जन्म हुन्छ | भएको के हो, कसरी हो भन्ने कुरामा खासै कसैको चाख हुँदैन, के भैरहेको छ भन्ने कुराले सामाजिक संजाल तातिन्छ | हाम्रा संचार मिडियालाई भन्दा बढी त बिदेशी मिडियाहरुलाई बढी चासो र जानकारी भएको भन हुन्छ | यहाँ समस्या बिक्छ, समाधानका उपायहरुका बिषयमा अधिकांशलाइ कुनै चाख हुदैन, जे बिक्छ उत्पादन पनि त त्यहि हुन्छ | धुम्रपान मध्यपान कै उदाहरण लिउं |

भदौ २४ गते अब कसैको पनि परिकल्पनामा नभएका घटनाहरु घट्न थाल्छन | न आन्दोलनकारीहरुले सोचेका थिए न राज्यले त्यसको सुइँको पाएको हुन्छ | अब बिभिन्न तत्वहरुले आ-आफ्नो रंग देखाउन थाल्छन् | राष्ट्र अझै पनि कसैको मनमस्तिष्कमा हुदैन, सबै आ-आफ्नो स्वार्थ पुर्तिमा उद्दत भैरहन्छन | फलस्वरूप राज्यका हरेक सम्बेदनशील निकायहरु डढेर खरानी बन्छन् | शिंहदरबार, सितलनिवास संगै सर्वोच्च अदालाल सम्म खरानी भैसक्छन् | अधिकांश वडा कार्यालय, नगरपालिका देखि लिएर मालपोत, अदालत सबै केहि क्षणमै ध्वस्त बनाइन्छ |

कसले के गर्ने कसैको पुर्व तयारी नभएको अवस्थामा सबैले आफ्नो नाक जोगाउनु नै उत्तम ठानिन्छ, कम क्षतिमा सहज निकासनै सबैको मूल मन्त्र हुन्छ र दुइ तिहाइको दम्भ देखाउने अलोकतान्त्रिक सरकार घुंडा टेक्न बाध्य हुन्छ | कांग्रेस एमालेको सरकारलाई अलोकतान्त्रिक नै भन्नु पर्छ किनकि यो लोकतन्त्रको सामान्य परिभाषाको बर्खिलाप नै थियो |

हुन पनि नेपालमा लोकतन्त्र कहिले नै थियो र ? राजतन्त्र, निरङ्कुश राणा शासन, प्रजातन्त्र, निर्दलीय पंचायत, बहुदल हुँदै पुन: राजतन्त्र र लोकतन्त्रको उतारचढाव भोगेको राज्यमा लोकतन्त्रको जग त कहिल्यै बस्न सकेको नै मान्न सकिन्न | लोकतन्त्रको नाममा निर्वाचन बहेक अरु कुनै पद्दतिको परिक्षण नै गर्न नसकेको यो सानो राज्यमा लोकतन्त्रको असली जग बस्न सकेको कै छैन |

बारम्बार उठ्ने आवाजहरुको कहिल्यै पनि लोकतान्त्रिक बिधि पद्दतिबाट परिक्षण नै नगरी जनताको आवाजको संज्ञा दिने दलहरु दलालीय तन्त्रमा नै रमाईरहे | जसलाई जे मा फाइदा छ उसले गर्ने त त्यहि नै हो पनि | न त संबिधान बनाउने बेलामा जनमत संग्रह गरियो, न तत्पस्चात कहिल्यै आवश्यक ठानियो, आफ्नो आफ्नो रोटी जो सबैलाई सेक्नु छ |

अहिले आवश्यकताको सिद्धान्तको हवाला दिएर २०७२ कै संबिधान पालना गर्ने गरी नया सरकार बनेको छ | यसलाई पनि आ-आफ्नो तर्कले ब्याख्या गर्ने छुट सबैलाई छ | जादुको छडी त कसैसंग पनि छैन कि छु मन्तर गरेर सबै संकटको मोचन होस्, सबै पुन: आ-आफ्नै दाउपेचमा माग्न छन् | पुराना दलहरु पनि पुन: सल्बलाउन थालिसकेका छन् |

यसपालिको दशैं सधैंको जस्तो त छैन, तर पनि चाडपर्वको मनोभावनाका कारण अहिले बातावरण केहि शान्त देखिएको छ | भित्र भित्रै आगो सल्किएको भए पनि कुइनो अहिले यथावत नै छ, ठडिएकै छ |

दशैंको माहोल छ, जनता मासु र मदिराको रमझममै छन् | राज्य पुन: अचेत अवस्थामै छ | जेन जी हुन् या जेन एक्स या वाई, यतिबेला पुन: कसैको पनि मगजमा राज्य छैन | हुन पनि कसैले ठेक्का लिएर बसेको पनि त हैन | आफ्नै गतिमा चलिरहको थियो र अब पनि यसरी नै त चलिरहने हो, कसले गरेर यहाँ के नै हुनेवाला हो र ? हाम्रो मानसिकता पनि त यहि नै हो |

सरकार बन्दै छ, कति भएपछि पूर्ण हुने हो भन्ने यतिबेला कुनै मापदण्ड पनि त छैन | संसद बिघटन भएको अवस्था छ | राष्ट्रिय सभालाई त संविधानले नै कुनै महत्व दिएको थिएन झन् त्यसको वर्तमान स्वरूप र कामकाजले कसैलाई पनि त्यसको आवश्यकताको अनुभूति हुने त कुरै भएन | सुरक्षा निकायको मनोबल यति सम्म गिरेको अवस्था छ कि अब कसले कसलाई किन टेर्ने भन्ने अवस्थाको शृजना भएको छ | भगवान भरोसा नै चलिरहको यो देश यो समयमा त झन् चरितार्थ नै भएको छ | कुन बेला के हुने हो कसैको पनि बसमा केहि छैन |

यहाँ बोल्नेको पिठो बिक्छ नबोल्ने को चामल पनि बिक्दैन | हुन पनि हो, बोल्दै नबोली कसरी कसैको मनको कुरा थाहा पाउने त ? देखाउने दांत नै भएपनि जे देखिन्छ त्यसमा नै त बिश्वास गर्नु पर्यो, अरु उपाय पनि त के नै छ र ?

जसले जसरी जुन स्वार्थले जे गराए पनि नतिजा कसैको पनि बसमा हुँदैन | वर्तमान परिस्थितिलाई एउटा परीक्षाको अवस्था नै मान्नु पर्छ | जसले जे गर्छ भोग्ने पनि उसैले सो हि अनुरुप नै हो | कर्मको चक्रबाट कोहि पनि उम्कन पाउंदैन र सक्दैन पनि | निहित स्वार्थले गरिने कुनै पनि कर्मले क्षणिक आनन्द त दिन सक्छ तर त्यसले कर्म अनुरुपको फल पनि दिने पक्का नै छ | चिन र भारतको इतिहास पनि हेरौं, इतिहासमा कुनै बेला उनीहरुमाथि गरिएको अत्याचारको शृंखलाहरु नियालेर हेरौं र आजको अवस्था हेरौं, धेरै कुरा गर्ने पर्दैन |