
शासन प्रणालीमा देखिएका विकृति, विसंगतिविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीमाथि सोमबार नेपाल सरकारले क्रूर दमन गरेको छ । एकै दिन १९ आन्दोलनकारीको मृत्युभ एको छ भने ३ सयभन्दा धेरै घाइते भएका छन् । देशमा राजनीति व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा असन्तुष्ट जेनजीहरु सामाजिक सञ्जालहरु सरकारले प्रतिबन्ध गरेपछि थप असन्तुष्ट थिए । यसरी स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका युवाहरुलाई सरकारले बर्बर दमन गरेको छ ।
काठमाडौँ उपत्यबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र्२ जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ ।
दिनहुँ १५ सयभन्दा बढी युवा विदेशिने गर्दा युवाविहीन हुँदै गएको देशमा जेनजीको आन्दोलनले उत्साह थपेको थियो । आफ्नै भविष्य र राष्ट्रको दिशाबारे युवाले चासो राख्नुलाई सकारात्मक मान्नुपर्छ । आन्दोलनमा विभिन्न स्वार्थ समूहहरुको घूसपेठले ठाउँ ठाउँमा तोडफोड र आगजनी भएका छन् । देशभरकै मुख्य मुख्य सहरमा जेनजीहरुले प्रदर्शन गरेका छन् । तर उनीहरु आन्दोलनमाथि नेतृत्व लिनबाट चुके । त्यसकै कारण आन्दोलन अराजक बन्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । पोखराको प्रदर्शनमा चार जना घाइते भएका छन् भने २९ जना पक्राउ परेका छन् । मुख्यमन्त्री कार्यालय तोडफोड भएको छ ।
जेनजीको आन्दोलन अराजक बन्यो, घूसपेठ भयो भन्दैमा प्रशासनले गोली चलाउने कुरा स्वभाविक होइन । राज्यको पहिलो कर्तव्य देश र नागरिकको रक्षा गर्नु हो । सोमबारै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । यही राजीनामा र नैतिकताको प्रसंग र छानबिन समितिमै अहिलेको आन्दोलन मत्थर हुनु हुँदैन । भए पनि यसलाई सरकारले कमजोर आकलन गर्नु हुँदैन । असंगठित युवाको शक्तिले देशैभर यस्तो ठूलो मात्रामा आन्दोलन गर्न सक्ने अवस्था सिर्जना हुनुको जिम्मेवार को हो ? युवाले नेताहरुका छोराछोरी विदेशमा पढ्ने, आफूहरु खाडीमा काम गर्न जानुपर्ने विडम्बनाको अन्त्य माग गरेका छन् । सुशासन, रोजगारी र पारदर्शिता माग गरेका छन् । लोकतन्त्रमा लोकतन्त्र योचित व्यवहार मग्दा गोली दाग्नु किमार्थ स्वीकार्य हुँदैन । यो दमन निन्दनीय छ, केपी ओली नेतृत्वको सरकारले एकै दिन गोली प्रहार गरी १९ युवाको ज्यान लिएको छ । यसले दोस्रो जनआन्दोलनताका कमल थापा गृहमन्त्री हुँदा भएको दमन बिर्साएको छ ।