लघुकथा प्रतिष्ठानमा नयाँ कार्यसमिति : अध्यक्षमा पन्त

लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. नवराज न्यौपाने, ढाकामोहन बराल र गायत्री पराजुली चयन भएका छन्।

अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले लघुकथा प्रतिष्ठानले पोखरामा आख्यानको क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै, नेपालकै सन्दर्भमा लघुकथा पुरस्कार स्थापना, नियमित वाचन, समीक्षा र विविध कार्यक्रमले संस्थालाई बलियो बनाएको धारणा राखे। उनले आगामी दिनमा आफूबाट पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि गरे।

साहित्यकार लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्षतर्फबाट प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष गीता तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो।

यसै अवसरमा हरेक दुई वर्षमा नेपाली लघुकथामा योगदान पुर्‍याउने कथाकार, समालोचक, अनुसन्धानकर्ता वा संस्थालाई प्रदान गरिने लघुकथा पुरस्कार स्थापनाको घोषणा गरिएको छ। पुरस्कार विनियम मस्यौदा लेखनका लागि डा. ईश्वरमणि अधिकारी (संयोजक), रुपिन्द्र प्रभावी जोशी र शोभा लामिछाने सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको थियो।

समाजसेवी रामप्रसाद बतासद्वारा सुरु गरिएको १ लाख १ सय १५ रुपैयाँकोप अक्षयकोषलाई प्रतिष्ठानका पदाधिकारी, सल्लाहकार तथा लघुकथाप्रेमीहरूले थप योगदान गरी हाल १ लाख ७१ हजार रुपैयाँ पुर्‍याइएको छ। नयाँ कार्यसमितिले उक्त अक्षयकोषलाई विस्तार गरी पुरस्कार राशी २ लाख पुर्‍याउने लक्ष्य राखेको छ।

डा. ईश्वरमणि अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा साहित्यकार दीपक समीपले शुभकामना दिएका थिए। अधिवेशनलगत्तै अध्यक्ष पन्त नेतृत्वको कार्यसमितिको बैठकले निर्वाचन समिति संयोजक अल्पविराम पोखरेली, निवर्तमान पदाधिकारी तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको थियो।

अल्पविराम पोखरेली, सरुभक्त, लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी र दीपक समीपलाई सल्लाहकारमा चयन गरिएको जानकारी सचिव बिष्णु बास्तोलाले दिएका छन्।