समुन्द्र परीको तीज

म त्यही हुँ, तिमी त्यही हौ, यो तीज पनि त्यही हो
तर तिमी भए जस्तो छैन आमा !
भालेको डाकोसँगै तिम्रो चटारो सुरु हुन्थ्यो
चटारो मेरो पनि कम त छैन
तर खै सै तिम्रो भदैरे झरीलोई नभिजाएको तिम्रो शरीर
यता, मलाई साबरको पानीले बिरामी बनाउँछ ।
आमा तिमीलाई त्यता गोडमेलको हतारो हुनुभन्दा
मलाई पहिले यता तीजले जुरुक जुरुक बनाउँछ
तिमीले त्यो गैरी खेतको आलीमा बसेर पोखेको वेदना कस्ले सुन्न पाउँछ ?
यो काँक्रो, दाइ आउँदा, यो भाइ, यो दिदी अनि यो पाकेको तँ आउँदा भन्छेऊ
खै सबै बसेर ती काँक्रा खाने तीज कहिले आउँछ ?

दराज खोल्दा साडीहरू झगडा गर्छन्, अब मेरो पालो भन्दै
तर तिमीले मुदुसको कुनाबाट झिकेर दिएको गुन्यूमा जस्तो सुगन्ध छैन यसमा
आमा, खानाको त के कुरा गरूम, एउटा थानमा अट्ने होइन
के के हो, के के, चौरासी व्यञ्जन नै खाय पनि
तिमीले पकाएको गाभाको स्वाद अहिले कहाँ पाउनु ?

तिम्रो सानो चिटिक्क परेको आँगनमा म नाच्दा जनीजानी लडिदिन्थे
तिमी हतारिँदै आएर मनाई अंगालोमा बेरीहाल्थ्यौं
समुन्द्र जस्तै आँगन छ आमा अहिले
तर तिम्रो न्यानो अंगालो छैन
यो छ, त्यो छ, यता छ, त्यता छ, सर्वत्र छ
जताततै छ,, खै सबै भयर पनि किन किन खल्लो छ आमा
समुद्र परीको तीज समुन्द्रको पानी जस्तै ।
यस्तो बेलामा मेरै आँखाबाट वर्षात् हुन्छ
थाहा छ यी आँसुका ढिका पनि तिम्रै काख चाहन्छन् !