अनुभूतिः स्वास्थ्य लाभको कामना

‘ठूली माई सिकिस्त बिरामी छन्, आमालाई बोलाइदिने भनेकी छन्,’ आश्रमका एक विद्यार्थीले भने । त्यति भन्ने बित्तिकै ‘यत्ति खबर भन्न आएको हुँ म जान्छु है’ भनेर उनी पोखरातिर लागे ।

करिब ९२ वर्षकी हुनुभयो उहाँ । हरिहर सन्यास आश्रममा बस्नुहुन्छ । उहाँलाई रेखदेख गर्ने त्यहीँका भक्तजन छन् । अम्बिकाले अलि बढी हेरचाह गर्छिन् । नत्र आफ्नो व्यथा आफैँले सहने, आफ्नो पीडा आफैँले भोग्ने त हो । जो कोहीलाई जीवन असजिलो यात्रा लाग्छ । पीडामुखी पनि । जसै सबै मान्छे एउटा न एउटा चिन्ताले पिरोलिएका हुन्छन् । जसै सबै मान्छेले आफूलाई बिसाउने चौतारी पाएका हुँदैनन् ।

यद्यपि ठूली आमालाई हरिहर गुफा सन्यास आश्रमको बसाइ उपयुक्त छ । यत्तिकै मात्रामा व्यवस्थित र शान्तिमय छ । बेलाबखत हुने प्रवचन, पूजापाठले चित्तशुद्धि बनाउँछ । विचलन र अस्थिरतालाई हटाउँछ । तर पनि आश्रममा महिलाहरू बढी भएकाले आश्रम घर जस्तो लाग्छ । असन्तुष्टि व्यक्त हुने क्रममा घरमै भाँडाकुँडा बज्छन् । अनि घरमै जस्तो गुनासो र बाँझाबाँझ हुन्छ ।

यति कुरालाई सामान्य ठान्ने हो भने आश्रमको बसाइँ ठूली आमा उमेर समूहका लागि आरोग्य छ । व्यवस्थापन समितिबाट कुनै कमजोरी झल्कदैन । यति हुँदाहुँदै पनि आश्रममा बसेका वृद्धाहरूले आफन्त खोज्छन् । विरामी पर्दा आफन्तको स्याहार र हेरचाह खोज्छन् । जसै ठूली आमाले आमालाई खोज्नु भयो ।

ठूली आमासँगका थुप्रै यादहरू छन्, जुन याद यतिबेला मेरा मनमा तरल बन्दछ । ९२ वर्षकी ठूली आमा बिरामी भएको सुन्दा या त्यसपछि घट्न सक्ने घटना मेरा लागि अलौकिक जस्तो लाग्छ । अनि म प्राथमिकता कामलाई थाती राख्छु र आश्रममा जाने सोच बनाउँछु ।

आमा पनि ती विद्यार्थीको कुरा सुन्ने बित्तिकै कराई घोप्टाए जस्तो अनुहार बनाउनु हुन्छ । अनि सबै काम छोडेर मजेत्रो काँधमा राखेर हिँड्नु हुन्छ ।

मेरो मनमा पनि ठूली आमासँगका घटना धारावाहिक लाग्छन् । मामा कहाँ बस्दा मनपर्ने खाजा दिनहुँ जस्तो दिएको । कहिलेकाहीँ जान बिर्सदा ‘हिजो कता गइतिस्’ भनेर चासो राखेको । एकपल्ट बिरामी पर्दा दिनको दुई तीन पटक घरमा आएर भगवान्सँग कामना गरेको । वास्तवमै ठूली आमा जाती मात्र होइन व्यावहारिक र विवेकशील पनि छन् । यस्तै–यस्तै भावनाले मलाई प्रभावित पार्दछ, ठूली आमालाई भेट्न गई हालू भन्ने लाग्छ । ९२ वर्ष पुगेकी ठूली ममीको अन्तिम अवस्था हुन सक्छ, भेट्टााउने मौका पनि नमिल्न सक्छ ।

तब म हिँड्छु । आमालाई पाटनमा भेटाउँछु । उहाँ ठुलडहर भित्रबाट ठाडै उकालो लाग्नु हुन्छ । ‘कति छिटो हिँड्नु भएको हो आमा, हुने कुरा नभई छाड्दैन ।’
‘त नकरा, यो मनको व्यथा मलाई मात्र थाहा छ ।’

गाउँवस्तीबाट ठाडै उकालो । सारसौदा उमेर अवस्थाका लागि पनि आधा घण्टा भन्दा बढी लाग्ने । सोचे मायाले वशिभूत भएर त होला नि, हिजोसम्म टाउको दुख्यो, प्रेसर बढेछ कि क्या हो भन्नु भाथ्यो । तर आज आश्रम जान तयार हुनुभयो । तयार मात्र होइन, लामा पाइलामा हिँड्दै हुनुहुन्छ ।

आधाउधी उकालोसम्म आमा केही बोल्नु भएन । त्यसपछि भन्नुभयो, ‘साह्रै होला नि है ? दिदीहरू भन्नु हेर्दाहेर्दै गए । हुन त आफू पनि जाने बेला भयो होला नि ।’

बुच्चडले एउटा खसी काट्छ । सँगसँगै लगेको खसी घाँस खाँदै हुन्छ । त्यसलाई पनि पक्कै थाहा हुन्छ होला नि म एकछिन पछि मर्दैछु भन्ने । यस्तै हो ४०–५० कटेपछिको जिन्दगी भनेर सुझाउ जस्तो लागेको थियो तर परिस्थिति अलि नमिल्दो लाग्यो । आमाको चित्त भड्किन्छ जस्तो पनि लाग्यो ।

त्यसैले म केही बोलिन् । करिब ४५ मिनेटपछि हामी आश्रममा पुग्यौँ । हतपत्त आमाले भन्नुभयो, ‘कस्तो छ ठूली माई तिमीलाई ?’
‘मलाई साह्रै गाह्रो भएको छ ।’ उहाँले भन्नुभयो ।

‘तुरियानन्दलाई सोधेर मर्दा के–के सामान चाहिन्छ, सोधेर नबिर्सीकन ल्याइदे नानी । पैसा भाइसँग माग ।’ बोल्दाबोल्दै उहाँ स्वा स्वा गर्नुभयो । आमा भने स्तब्ध हुनुभयो । किनभने ठूली आमाको मुखबाट उहाँले अपेक्षा विपरितका कुरा सुन्नुभएको थियो । यतिसम्मकी अन्त्येष्टी कर्म रित अनुसार हुँदैन कि भनेर चिन्ता व्यक्त गर्नुभएको थियो । जुन प्रकारको चिन्ता धर्म, कर्म र सत्सँगको स्रोत थियो । जुन प्रकारको चिन्ता जोकोहीलाई हुँदैन ।

आमाले उहाँका कुरा सबै मान्नुभयो । केही क्षण बसेपछि हामी घर फर्कियौँ । तर ठूली आमा सोचे जस्तो हुनुभएन । भन्नाले उहाँको स्वास्थ्यमा नाटकीय ढंगले सुधार आयो ।
अलिपछि आफैँ ट्वाइलेट जान सक्नुभएन । सानो प्लाष्टिक बाटामा गर्नुहुन्थ्यो । कहिले म, कहिले भरत दाइ, कहिले मावली भाइहरू, प्रायः मामा गएर पिसाब फाल्नेलगायत कोठा सफा गरिदिने काम हुन्थ्यो ।

अलि बढी सेवा गर्नुपर्ने भएर हो या दिनहुँ आश्रममा जान अप्ठ्यारो भएर हो । अहिले मामाले घरमै ल्याउनु भएको छ । परार नै अब बाँच्दिन, मरेपछि मेरो कर्म राम्ररी गर्दे ओ भन्नुभएको जीवितै हुनुहुन्छ ।

केही दिनपछि म मामा कहाँ गएको थिएँ । ठूली आमालाई बोलाएँ, ‘ठूली आमा !’ ।
‘के हो ?’
‘म देवे ।’
‘ए ! देवे होस् । धेरै दिनपछि आइस तँ ।’

उहाँको भनाइमा पाएको आफ्नोपन र आत्मियताले मलाई भावविभोर बनायो । थप कुराकानी गर्न सक्ने माहोल रहेन । मैले घरमा आएपछि आमासँग भनेँ– ‘आमा, ठूली आमा साह्रै कमजोर हुँदै जानु भएको छ । मामाका परिवारलाई पनि साह्रै दुःख भएको छ । नमर्ने को छ र ? ९२÷९३ वर्ष बाँच्नु भयो । अब सजिलो मरण भए त्यही राम्रो ।’

‘त हामी के हुम र ? यसो गरे हुन्थ्यो, उसो गरे हुँदैनथ्यो भन्ने ।’ आमाले भन्नुभयो । ‘एकबारको जिन्दगी घिट्घिटो रहुन्जेल पनि तेरो के घट्यो र ?’ आमा रिसाउनुभयो ।
मैले मनमनै सोचे । आफ्नो विचार परिवर्तन गरेर ठूली आमालाई हृदयदेखि स्वास्थ्य लाभको कामना गरेँ ।