दसैंलाई दशा होइन, उत्सव बनाउन अभियान

नेपालीको सबैभन्दा ठूलो पर्व दसैं । दसैंमा परदेश र देशमा पनि विभिन्न ठाउँमा रहेकाहरु घर फिर्छन् । राम्रो लगाउने, मीठो खाने, आफन्तसँग भेटघाट र आशीर्वाद लिने सांस्कृतिक र सामाजिक महत्वको पर्व पनि हो दसैं ।

दसैंका सकारात्मक पक्ष धेरै छन् । सँगसँगै दसैंमा केही विकृति पनि भित्रिएका छन् । आयो दसैं ढोल बजाई, गयो दसैं ऋण लगाई भन्ने उखानै छ । दसैंमा आएका विकृति रोक्न र आत्मीय तवरले पर्व मनाउन आग्रह गर्दै नारी जागरण अभियान पोखरा, कास्कीले बुधबार सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

अभियानका संयोजक अञ्जु केसीसहितको टोलीले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएको हो । यसअघि तीज भड्किलो भएको दाबीसहित त्यसलाई रोक्न देशव्यापी अभियान चलाएको नारी जागरण अभियानले दसैं पनि परम्परागत रुपमै मनाउन आग्रह गरेको हो ।

अभियानकी संयोजक अञ्जु केसीले पछिल्ला वर्षमा दसैंमा मदिराको अत्यधिक सेवन, तासजुवा खेल्ने, समाजमा झैंझगडासमेत बढेकोले त्यसलाई रोक्न आग्रह गरिएको बताइन् । उनले भनिन्, ‘दसैं हाम्रो सबैभन्दा ठूलो पर्व हो । यसलाई आफ्नो हैसियत अनुसार मनाऔं । अरुको देखासिकीमा दसैं हाम्रो लागि दशा बन्नु हुन्न । दसैं उत्सव बन्नुपर्छ ।’

‘चाडबाडको मौका छोपेर कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका सामान बेच्ने काम भैरहेका छन् । चोरी डकैती पनि उस्तै हुन्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘पर्वलाई मौलिक र सुसभ्य तवरले मनाउन र समाजमा शान्ति, सुरक्षा, अमनचयन, आपसी भाइचारा कायम गर्न सम्वद्ध सबै पक्षलाई थप जिम्मेवार र जागरुक बनाउन प्रहरी, प्रशासनसहित गण्डकी प्रदेश सरकारसमक्ष नारी जागरण अभियान पोखरा ध्यानाकर्षणसहितको हार्दिक अनुरोध गर्दछ ।’

ध्यानाकर्षण पत्र बुझ्दै आन्तरिक मामिला मन्त्री चुमानले कालोबजारी र अस्वस्थकर सामान बिक्री, वितरण रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउने प्रतीज्ञा गरे । उनले पर्वलाई भड्किलो हुन नदिन सरकारीले नागरिकलाई सतर्क गराउने जनाए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले निरन्तर बजार अनुगमन भइरहेको जानकारी दिए । उनले दसैंमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरिने उल्लेख गर्दै नागरिकले पनि यसमा सघाउनुपर्ने बताए ।

नारी जागरण अभियान
पोखरा, कास्की

श्री आन्तरिक मामिला तथा कानुन मन्त्रीज्यू,
गण्डकी प्रदेश, पोखरा, नेपाल

                   विषय ः ध्यानाकर्षणपत्र

दशैं नेपालीको महान् चाड हो । देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको बध गरेको साथै श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रुपमा दशैं मनाउन सुरुवात भएको धार्मिक विश्वास छ । अतः यस पर्वलाई असत्यमाथि सत्यको जितको प्रतीकका रुपमा लिइन्छ । दसैंमा टाढा टाढा रहेका परिवारका सदस्य, आफन्त, नाता कुटुम्ब, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा र आर्शीवाद ग्रहण गर्न आउने, जाने गरिन्छ । यसबाट सामाजिक सद्भाव, भाइचारा र आत्मीयता वृद्धि हुन्छ ।

दसैंमा धेरैथरि उपभोग्य वस्तुको किनमेल गरिन्छ । यस चाडको मौका छोपी कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका वस्तुको व्यापार, खाद्यान्नमा मिसावट जस्ता विकृति हुने गरेका छन् । खुलारुपमा बेच्न राखिएका अवस्थकर मासु, मिठाइ, फलफूल तथा अन्य खाद्यवस्तुका कारण मानव स्वास्थमा प्रत्यक्ष असर पर्न सक्छ । मदिराजन्य पदार्थको खुला बिक्री र जथाभावी प्रयोगका कारण झैझगडाका घटना पनि हुन सक्छन् । पर्वको मौका छोपी चोरी डकैतीका घटना पनि कतै कतै हुने गरेका थिए ।
चाडपर्वको समयमा सडकमा अत्यधिक चाप, सवारी साधनको तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने भय पनि हुन्छ । यात्रुसँग सवारी साधनले अस्वाभाविक रुपमा भाडा असुली गरेका घटना पनि सार्वजनिक हुन्छन् ।

अतः यस किसिमका विकृत प्रवृत्ति र संस्कार दोहोरिन नदिई दशैंलाइ सामाजिक सद्भाव र प्रेमसहित हर्ष, उल्लासका साथ मनाउन सर्वसाधारणदेखि सबै पक्ष जिम्मेवार र चनाखो हुनुपर्छ । दसैंका धार्मिक, सामाजिक पक्षको जगेर्ना गर्दै सडक दुर्घटना, चोरी डकैती, भैmझगडा, कालाबजारी लगायतका विकृति हटाउनु आवश्यक छ । पर्वलाई मौलिक र सुसभ्य तवरले मनाउन र समाजमा शान्ति, सुरक्षा, अमनचयन, आपसी भाइचारा कायम गर्न सम्वद्ध सबै पक्षलाई थप जिम्मेवार र जागरुक बनाउन प्रहरी, प्रशासनसहित गण्डकी प्रदेश सरकारसमक्ष नारी जागरण अभियान पोखरा ध्यानाकर्षणसहितको हार्दिक अनुरोध गर्दछ ।

वडा दसैं २०७६ को उपलक्ष्यमा हामी सबैमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

अञ्जु केसी
संयोजक
नारी जागरण अभियान

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।