सिकिस्त मधेसलाई माया गरौं

समुद्रले छुँदै नछोएकाले वैदेशिक व्यापारमा हामीलाई अनेकौं वाधा छन् । ती व्यवधान कम गर्न सम्भव छ तर निर्मुल गर्न सम्भव छैन । समुन्द्र टाढा हुँदाको फाइदा सामुन्द्रिक आँधीको त्रास हामीकहाँ हुँदैन । तर, असिना, पानीसहित आएको हावाहुरीले प्रदेश २ मा भयानक विपत्ति निम्त्याएको छ । देशको मुटुमै चोट लागेको छ । मुटुको आलो घाउको पीडा शरीरभरि फैलिँदो छ । आइतबार साँझको ज्यानमारा हुन्डरीमा परी आइतबार मध्य रातसम्म २५ बढीको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको पुष्टि भइसकेको छ ।

मध्य तराइका बारा, पर्सा र रौतहटमा आएको बज्रपातमा धर्यधारण गर्न प्रधानमन्त्रीले आह्वान गरिसकेका छन् । उनी उद्धारमा जुट्न पनि सुरक्षा निकायलाई निर्देशन दिइसकेका छन् । नेपालमा यस्तो ठूलो क्षति गर्ने आँधीहुरी सुनिएकै थिएन । १, २ जनाको मृत्यु कुनै बेला हुन्थ्यो । तर राष्ट्रिय विपत्तिकै रुप लिने आँधी हामीले अनुभव गरेका थिएनौं । चट्याङ, पहिरो, बाढी, हिमपहिरो जस्ता विपत्ति हामीले भाग्दै आएका छौं । विपत्तिमा एकजुट हुने र यथाशक्य सहयोग गर्ने हाम्रो संस्कार छ, परम्परा छ ।

रातिको समय भएकाले अहिले उद्धारमा पनि कठिनाइ छ । घाइतेको उपचार र प्रभावितको उद्धारमा सघाउनु अहिलेको मुख्य काम हो । यस्तो अवस्था गम्भीर घाइते भएका बिरामीलाई राति उद्धार गरेर लैजानसक्ने नाइटभिजन भएका हेलिकोप्टर पनि नेपालमा नेपाली सेनाबाहेक अरुसँग छैन । विपत्तिबाट पाठ सिकेर यसको तयारी गर्नुको विकल्प हामीसँग छैन ।

पछिल्लो समय संघीय सरकार र प्रदेश २ को सरकारबीच केही टकराव पनि देखिएको थियो । प्रदेश २ नेपालको केन्द्र हो । यहाँबाट सुरु भएको नाकाबन्दीको पीडा हामीले भुलेका छैनौं । कुनै द्धेष नराखी मधेशको पीडामा सबै नेपालीको साथ, सहयोग र आत्मीयता जरुरी छ । विपत्तिमा कवि दिनेश अधिकारीको यो गीत झैं हामीलाई एकजुट हुने शक्ति आओस् ः

पहाडमा जाडो बढे तराईले साक्नुपर्छ
आँधी आए तराईमा पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातिभित्र
माटोलाई चोट लाग्दा मुुटुहरु रुनुपर्छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित विद्युतीय कारोबार ऐन विपरीत अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।